
जनकपुरधाम- निर्वाचनमा धेरैजनाले जितको आशा राखेर उम्मेदवारी दिन्छन् । अनपेक्षित नतिजा र भाग्यमा विश्वास गरेरै जनमत नभएकाहरुले पनि उम्मेदवारी दिन्छन् । कतिपयले भने सनकका भरमा र अरुलाई देखाउनकै लागि उम्मेदवारी दिन्छन् । यस्ता उम्मेदवारले निकै कम मत ल्याउँछन्।
कतिपयले त आफ्नै मत समेत नपाएको देखिएको छ । यसपटकको निर्वाचनमा प्रत्यक्षतर्फ शून्य मत प्राप्त गर्ने उम्मेदवार पनि छन्। धनुषा क्षेत्र नम्बर ४ का राजेशकुमार यादव (स्वतन्त्र)को शून्य मत रहेको छ।
त्यस्तै कम मत पाउने अधिकांश स्वतन्त्रका उम्मेदवार छन्। एक मत प्राप्त गर्ने सबैभन्दा बढी धनुषा क्षेत्र ४ मा छन्। सो क्षेत्रमा पाँच जना उम्मेदवारले एक मात्र मत ल्याएका छन्। त्यस्तै मोरङ क्षेत्र नम्बर ३ मा स्वतन्त्र दुई जना, काठमाडौँ १ मा स्वतन्त्र दुई जना, काठमाडौँ ४ मा स्वतन्त्र एक जना र चितवन ३ मा स्वतन्त्र एक जनाले एक/एक मत मात्र ल्याएका छन्।