जनकपुरधाम। मधेश प्रदेशमा पछिल्ला केही वर्षयता सवारी दुर्घटनाका घटनाहरू तीव्र रूपमा बढ्दै गएका छन् । उपलब्ध तथ्यांकले नेपालभर सवारी दुर्घटनाबाट ज्यान गुमाउनेमध्ये करिब २१ प्रतिशत मधेश प्रदेशमै पर्ने गरेको देखाउँछ । यसले प्रदेशमा सडक सुरक्षाको अवस्था कति चिन्ताजनक छ भन्ने स्पष्ट संकेत गर्छ ।
यति गम्भीर अवस्था हुँदाहुँदै पनि दुर्घटना न्यूनीकरणका लागि गरिएका प्रयासहरू अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको सरोकारवालाहरू बताउँछन् । गुणस्तरीय सडक संरचनाको अभाव, निर्माणमा हुने लापरबाही र भ्रष्टाचार, तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति, ट्राफिक नियमको बेवास्ता तथा लागुपदार्थ सेवन गरी सवारी चलाउने कारणले दुर्घटनाको जोखिम अझै बढाएको जानकारहरूको भनाइ छ ।
चालु आर्थिक वर्षको मंसिरसम्म देशभर १३ हजार ८८० वटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा १ हजार ४२ जनाले ज्यान गुमाएका छन् भने हजारौँ घाइते भएका छन् । सो तथ्यांकअनुसार मधेश प्रदेशमै मात्रै २२० जनाको मृत्यु भएको देखिन्छ, जसले प्रदेशमा दुर्घटनाको गम्भीरता उजागर गर्छ ।
आर्थिक वर्ष ०८१/०८२ मा साउनदेखि मंसिरसम्मको अवधिमा मधेश प्रदेशमा २ हजार ६७१ वटा सवारी दुर्घटना भएका थिए । ती दुर्घटनामा १९१ जनाको मृत्यु भएको थियो भने ४ हजार ५७६ जना घाइते भएका थिए । सोही अवधिमा देशभर ३ हजार ४८४ दुर्घटनामा २२० जनाको मृत्यु र ५ हजार ६८५ जना घाइते भएको प्रहरी तथ्यांक छ ।
प्रहरीका अनुसार सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये १७ देखि ३० वर्ष उमेर समूहका युवाहरूको संख्या उल्लेख्य रहेको छ । मधेश प्रदेशका आठवटै जिल्लामा भएका दुर्घटनामा युवा वर्ग बढी प्रभावित देखिएको तथ्यांकले चिन्ताको विषय बनेको छ ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले महोत्तरीको बर्दिबासमा आयोजित एक कार्यक्रममा सडक दुर्घटनाबाट युवाहरू बढी प्रभावित भइरहेको जनाएको छ । कार्यक्रममा सहभागी स्थानीयवासी तथा सरोकारवालाहरूले युवालाई लक्षित प्रभावकारी सचेतना कार्यक्रम सञ्चालन गर्न सके दुर्घटनामा उल्लेखनीय कमी ल्याउन सकिने धारणा व्यक्त गरेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख गोविन्द थपलियाले तीव्र गति, सडकको दुरावस्था र लागुपदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्तिका कारण दुर्घटना बढ्दै गएको गुनासोलाई गम्भीर रूपमा लिइएको बताएका छन् । उनले महोत्तरी जिल्लामा मात्रै पछिल्लो छ महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सवारी दुर्घटनाको संख्या बढेको जानकारी दिएका छन् ।
प्रदेशस्तरीय तथ्यांकले सडक दुर्घटनामा १६ देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरू बढी घाइते हुने र ज्यान गुमाउने गरेको देखाउँछ । यसले दुर्घटना न्यूनीकरणका कार्यक्रमहरू विशेषगरी युवा केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएको छ ।
सरोकारवालाहरूले दुर्घटना न्यूनीकरणका लागि नियमित सवारी चेकजाँचलाई अझ प्रभावकारी बनाउने, मापसे परीक्षण कडाइका साथ लागू गर्ने, विद्यालय र क्याम्पसमा सडक सुरक्षासम्बन्धी सचेतना कक्षा सञ्चालन गर्ने तथा सवारी चालकलाई लक्षित सचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने सुझाव दिएका छन् ।




