
काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका १६ सहित फरार सूचीमा रहेका आरोपीविरुद्ध मुद्दा दर्ता भएको छ ।
बुधबार सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । पक्राउ परेका र फरार अभियुक्तहरूविरुद्ध ठगी, कीर्ते, संगठित र राज्यविरुद्धको अपराध गरी चारवटा छुट्टाछुट्टै मुद्दा दर्तासँगै २७ करोड २१ लाख बिगो माग गरिएको छ ।
प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी सरकारी वकिल कार्यालयको आठ सदस्यीय समितिले अभियोजन पत्र तयार गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंले घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।
यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री, पूर्व गृहमन्त्री,सचिवसहितका १६ जना पक्राउ परेका छन् । यहि प्रकरणमा फरार रहेका थप १७ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउने राय दिइएको थियो ।
शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृहसचिव (निलम्बित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् ।
पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना अझै फरार छन् ।