
जनकपुरधाम- उच्च अदालत जनकपुरले निहारिका सिंह राजपुतको मुद्दा अग्राधिकारमा राख्न आदेश दिएको छ । बुधबार बहस नसकिएको हुनाले उनको मुद्दा अग्राधिकारमा राखिएको छ ।
अदालतले मंसिर २१ गतेलाई पेसी तोकिएको छ । बुधबार न्यायाधीश भोजराज अधिकारी र डालकुमार खड्काको संयुक्त इजलासले उक्त आदेश दिएका छन् । प्रतिवादी शिवराज श्रेष्ठको पक्षबाट बहस नसकिँदै समय सकिएको जाहेरीवलाकी वकिल रिंकु यादवले जानकारी दिइन् । उनका अनुसार दुबैतर्फको बहस सकिए २१ गते नै इजलासबाट फैसला आउन सक्नेछन् ।
निहारिकाको तर्फबाट भने सरकारी वकिल यदुनाथ शर्मा, वरिष्ठ अधिवक्ता मीरा ढुङ्गाना र अधिवक्ता रिंकु यादवले बहस गरका थिए । कात्तिक १८ गते निहारिकाका छोरा र प्रतिवादी शिवराज श्रेष्ठको डीएनए ९९.९९९ प्रतिशत ‘ म्याच’ भएको प्रतिवेदन अदालतले प्राप्त गरेको थियो ।
‘डीएनए म्याच भएपछि श्रेष्ठको जबर्जस्ती करणीबाट नै राजपुत गर्भवती भइ बच्चा जन्मिएको बहस गरेका छौँ,’निहारिकाकी कानून व्यवसायी यादवले भनिन् । निहारिकाले आफूलाई पेय पदार्थ खुवाएर जबर्जस्ती करणी गरेको भन्दै श्रेष्ठविरुद्ध ०७६ माघ १९ मा जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् ।
जिल्ला अदालतले मेडिकल प्रतिवेदनमा निहारिकाले श्रेष्ठ र आफू श्रीमान–श्रीमती भएको बताएकाले जबर्जस्तीकरणी पुष्टि नहुने फैसला गरेको थियो । जिल्ला अदालतको फैसलाबाट असंतुष्टि जनाउँदै उनले उच्च अदालतमा मुद्दा दिएकी थिइन् । उनले आफूले अदालतबाट न्याय नपाएको भन्दै राष्ट्रपति भवन, शीतल निवास अगाडि आत्महत्याको प्रयास गरेकी थिइन् ।