
जनकपुरधाम- नेकपा एमालेका सचिव तथा धनुषा क्षेत्र नं.४ प्रतिनिधि सभा सदस्य रघुवीर महासेठले मधेस प्रदेशमा एमाले कै नेतृत्वमा सरकार गठन हुने दाबि गरेका छन् ।
प्रेस चौतारी धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता महासेठले मधेश प्रदेशमा नेकपा एमाले ठूलो पार्टी भएकाले मुख्यमन्त्री हुने स्वभाविक भएको बताए। उनले मधेस प्रदेशको सरकार गठन यस विषयमा अरु सहयोगी दलसंग सहकार्य हुने जनाए ।
नेता महासेठले मधेश प्रदेशमा प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फपनि पहिलो पार्टी बनेकोमा सम्पूणर् प्रदेशका मतदाता तथा आम जनता प्रति धन्यवाद समेत दिए ।
नेता महासेठले सरकार बनेको तीन महिनाभित्र जन्मसिद्ध नागरिकताको निणर्य नभए देशव्यापी आन्दोलन गर्ने चेतावनी समेत दिए ।
उनले भने, “अब बन्ने सरकारले तीन महिनाभित्र नागरिकताको समस्या समाधान नगरे एमालेको नेतृत्वमा मधेससहित देशभर आन्दोल गर्ने र त्यो आन्दोलनको अगुवाई एमालेले गर्नेछ ।”
नेता महासेठले नागरिकताको समस्याले लाखौं बालबालिकाको शिक्षा र रोजगारीमा समस्या भईरहेकोले नागरिकताको समस्या समाधान नहुनजेलसम्म आन्दोलन जारी राख्ने बताए।
महासेठले विगतमा एमालेको सरकारले मधेसमा चौध सय विकासका योजनाहरु ल्याउन लागेकोमा, कोरोना कहर र सरकार ढलेपछि आएको नयाँ सरकारले सम्पूणर् योजनाहरु संचालन गर्न नदिएको आरोप लगाए । उनले कांग्रेसको गठबन्धन सरकारले मधेस बिरोधी कृयाकलाप गरेको आरोप लगाए।
धनुषाको निर्वाचन क्षेत्र नंं २ मा नेकपा एमालेका उम्मेदवारलाई बल पूर्वक हराएको आरोप लगाउँदै उहाँले निर्वाचन आयोगको निर्देशिका विपरीतको क्रियाकलाप गरेर बलपूर्वक काँग्रेसका उम्मेदवारलाई निर्वाचित गरेको दावी गरे। यस विषयमा निर्वाचन आयोगले पनि सक्रियता नदेखाउनु दुःखद भएको उनले जनाए।