
महाेत्तरी- महाेत्तरीकाे गौशाला स्थित राष्ट्रिय मावि नवराजपुरमा व्यवस्थित पठनपाठनकाे माग गर्दै विद्यार्थीहरु आन्दोलनमा उत्रेका छन्। गौशला नगरपालिका वडा न. ३ मा स्थित श्री राष्ट्रिय माध्यामिक विधालय नवराजपुरका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनमा विद्यालयका प्रधानाध्यापक शुभकरण यादवको पनि समर्थन रहेकाे छ। विद्यार्थीहरुले आइतबारदेखि सडकमा टायर बालेर "विद्यार्थीको जिवनसंग खेलवाड गर्न पाइदैन , नगर प्रमुख मुर्दावाद , शिक्षामा गुणस्तरीय कायम गर लगायतका नाराबाजी गर्दै उनिहरु प्रदर्शन गरेका छन्। विगत ५ महिना देखि प्रअ शुभकरण यादवले विद्यालयका विभिन्न समस्याहरुको गुनासो लिएर नगरपालिकाको मेयर डा. दिपेन्द्र महताे समक्ष जादा पनि कुनै सुनुवाइ र चासाे नलिएपछि विद्यार्थीहरू बाध्य भएर आन्दोलनमा उत्रिएकाे र यसमा आफ्नो पनि समर्थन रहेको जनाए ।
आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले आइतबार गौशाला औरही सडकखण्डमा पर्ने विद्यालयको गेट अगाडि चक्काजाम गरेर प्रदर्शन गरे। शिक्षकको अभावले पठन पाठनमा समस्या भएको र विद्यार्थीको विषय गत कक्षा संचालन नभएपछि बाध्य भएर अन्दोलन गर्नुपरेको एक विद्यार्थीले भने । शैक्षिक सत्रको सुरुवातदेखि नै शिक्षक अभावको कारण देखाउँदै नियमित पठनपाठन नभएको विद्यार्थीहरूकाे गुनासो रहेको छ।
विद्यार्थीहरू नियमित पठनपाठनको व्यवस्था गर्नुपर्ने जोडदार माग गरेका छन्। कक्षा ८ की छात्रा सरिता कुमारी महतोले भनिन्, 'अन्तिम परीक्षा आउनै लाग्यो तर कुनै विषयवस्तु पढाइ नै भएको छैन।' विद्यार्थीहरूले शिक्षककै कारण पठनपाठन अवरुद्ध भएको भन्दै आफूहरू आन्दोलित भएको बताए। सम्बन्धित पक्षले बारम्बार झुठो आश्वासन देखाएर हामीहरूलाई ढग्ने काम मात्र गरेको भन्दै आफूहरू आन्दोलित भएको विद्यार्थीहरू बताए।
शिक्षकको पदपूर्ति भएर पढाइ लेखाइ हुनुपर्ने नै मुख्य माग भएको विद्यार्थीहरूकाे भनाइ छ। यता आन्दोलन साम्य भएपछि विद्यालय आएका नगरप्रमुख डा दिपेन्द्र महतोले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र यादव लगायतका पदाधिकारी र अभिभावक समक्ष उनीहरूलाई एक हप्ताका लागि निष्काशन गर्नका लागि आदेश दिएको प्रधानाध्यापक यादवले बताए।
तर विद्यार्थीहरूले पठनपाठन राम्रो ढंगले हुनुपर्ने माग राख्दा विद्यार्थीलाई नै मेयरले कार्वाही गर्ने अधिकार नभएको भनी अधिकारकर्मीहरूले आलोचना गरेका छन्। मानव अधिकार रक्षक संजाल महाेत्तरीका संयाेजक अजय साहले भने, "मेयरको गरिमा के हो ? विद्यार्थीलाई मेयरले निष्कासन गर्ने अधिकार कस्ले दियो ? कुन अधिकार प्रयोग गरेर निष्कासित गरियो ! मेयरलाई हस्तक्षेप गर्ने अधिकार कहाँबाट आयो ! विद्यार्थी बिद्यालयको हुन्छ ।
मेयरको हुदैन । अधिकारको प्रयोग गर्दा कर्तव्यको बोध भयो कि भएन भनेर समेत मनन गर्नुपर्ने हुन्छ ।" साहले एसईई नजिक आइसक्याे र २ वटा बिषयको पढाई नहुदा विद्यार्थीले आन्दोलन गर्नु स्वभाबिक रहेको बताउँदै उनले भने, "विद्यार्थीले पठनपाठनकाे माग राखेर आन्दोलन गर्दा मेयर नगर प्रहरी लिएर गएर तलाई कार्वाही गर्छु भनेर थर्काउनु बाल अधिकार , शिक्षाकाे अधिकार र मानव अधिकार उल्लंघन हाे। यो मान्य हुदैन।" उनले बिद्यार्थीको माग बमोजिम अध्ययन अध्यापनको वातावरण अविलम्ब मिलाउन माग गरेका छन्।