रेशम चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । यो पार्टी यस पटकको चुनावमा तीन सिट जित्दै संघीय संसदमा प्रवेश गर्दैछ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ तीन र प्रदेशमा आठ सिट ल्याएको यो पार्टीले समानुपातिकतर्फ अझै थ्रेस होल्ड कटाउन सकेको छैन ।
चौधरीकी पत्नी एवं पार्टी अध्यक्ष रञ्जु श्रेष्ठ कैलाली निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभामा निर्वाचित भएकी छन् । यो पार्टीबाट कैलाली क्षेत्र नं २ मा अरुणकुमार चौधरी र कैलाली ३ बाट गङ्गाराम चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । रेशमका पिता लालवीर चौधरी बर्दिया निर्वाचन क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित भएका छन् ।
रेशम भने २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा संलग्न भएको अभियोगमा जेल सजाय भोगिरहेका छन् । उनको पार्टी भने सरकार गठनका सन्दर्भमा पुनः चर्चामा छ । सरकार गठनका लागि बहुमत जुटाउने कसरत भइरहेका बेला नागरिक उन्मुक्ति पार्टी कुन कित्तामा उभिन्छ भन्ने चासोको विषय छ । निर्वाचन परिणामपछि विकसित राजनीतिक घटनाक्रम र सरकार गठनलगायत समसामयिक विषयमा चौधरीसँग गरेको कुराकानीः
भर्खरै सम्पन्न आम निर्वाचनलाई कसरी लिनुभएको छ ?
निर्वाचन जनमत परीक्षण गर्ने विधि हो । यसलाई पार्टीले स्वाभाविक रूपमा लिएको छ । यसपटकको निर्वाचनमा पुराना दलप्रतिको वितृष्णा र नयाँ दलप्रतिको आकर्षण देखियो । परिणामले जनताले परिवर्तन चाहेको देखिएको छ ।
निर्वाचनमा पहिलोपटक भाग लिएको नागरिक उन्मुक्ति पार्टीले ल्याएको मत परिणामको कसरी समीक्षा गर्नुभएको छ ?
निर्वाचनबाट हाम्रो पार्टीको विचार र मुद्दा अनुमोदन भएको छ । जनताले हाम्रा मुद्दालाई २०७४ देखि नै समर्थन गरिरहेका छन् । हामीलाई न्याय देऊ भनेर तीनपटक हाम्रो पक्षमा मतदान भइसकेको छ । जनताको अदालतबाट त हामीले मुक्ति पाइसकेका छौँ । तर, राज्यले त्यसलाई सम्बोधन गरेको छैन । जहाँसम्म परिणामको कुरा छ, हामीले छोटो समयमा संघ र प्रदेशमा गरी १२ सांसद पाउँदैछौँ । पाँच निर्वाचन क्षेत्रमा हाम्रो पार्टीका उम्मेदवार दुई सयभन्दा कम र नौ स्थानमा एक हजारभन्दा कम मतले पराजित हुनुभएको छ । स्थानीय तहमा करिब सय जना साथीहरू निर्वाचित भइसक्नुभएको छ ।
तपाईंको पार्टीलाई प्राप्त मतलाई कसरी विश्लेषण गर्नुहुन्छ ?
टीकापुर घटना राजनीतिक घटना हो । तर पनि हाम्रा साथीहरू जेलमा छन् । कयौँले मुद्दा खेपिरहनुभएको छ । यसपटक हामीले तीन प्रकारका मतदाताबाट माया पायौँ । टीकापुर घटनाले मन दुःखेका, हाम्रो न्यायका लागि मत राख्नेहरू र नयाँ अपेक्षा राख्ने मतदाताले हामीलाई सहयोग र समर्थन गरी मतदान गर्नुभएको छ ।
अरूबाट कस्तो प्रतिक्रिया पाइरहनुभएको छ ?
मैले पुराना दल तथा नेताबाट व्यक्त विचार हेरिरहेको र सुनिरहेको छु । उहाँहरूले हामीहरूलाई बिलाएर जान्छन्, अस्तित्व छैन, दृष्टिकोण नै नभएका भन्नेखालका लाञ्छना लगाइरहनुभएको छ । तर, हामीलाई यस्तो आरोप लगाइरहँदा हाम्रो घोषणापत्र एकपटक अध्ययन गरेर मात्र बोलिदिएको भए हुन्थ्यो भन्ने लाग्छ ।
मधेस केन्द्रित दल र पूर्वसहकर्मीप्रतिको बुझाइ के छ ?
उहाँहरूप्रति खास केही भन्नु छैन । मैले उहाँहरूलाई सडकमा गइदिनुस्, माइकमा मात्रै बोलेर हुँदैन भनेको थिएँ । तर उहाँहरूले सहानुभूति बटुल्नका लागि मात्रै बोल्नुभयो । यसमा निकै दुःख लागेको छ । त्यहाँका जनताले पनि मतमार्फत उहाँहरूप्रतिको गुनासो व्यक्त गरिसकेका छन् । अर्को चन्द्रकान्त (सीके) राउत मूलधारको राजनीतिमा आउनु स्वागतयोग्य कुरा हो । उहाँको जनमत पार्टी मधेसमा वैकल्पिक शक्तिका रूपमा उदाएको छ । बाँकी त हेर्नु नै छ ।
सरकार गठनका लागि छलफल भइरहेको छ, यसबीचमा तपाईंसँग कसैको कुराकानी भएको छ ?
म आठ वर्षदेखि जेलमा छु । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सधैँ सरकारमै छन् । मधेस केन्द्रित दलका नेताहरू पनि कुनै न कुनै रूपमा सरकारमै हुनुहुन्छ । उहाँहरूबाट हेर्न केही बाँकी छैन । कुराकानी भए पनि नतिजा नदेखिएसम्म अर्थ रहन्न ।
सरकार गठनमा तपाईंहरूको भूमिका के हुन्छ ?
हामी सबैसँग सकारात्मक नै छौँ । जबसम्म हाम्रा मुद्दाहरू सम्बोधन हुँदैनन् तबसम्म कुनै विकल्पमा जाँदैनौँ । कुरा प्रस्ट छ, जुन बाटोबाट मलगायत थुप्रै साथीहरू थुनियौँ, मुद्दा खेप्यौँ, त्यसबाट मुक्त गर्नुपर्यो ।
तपाईंहरूको मुख्य माग के हो ?
हाम्रा माग पुरानै छन् । पटक–पटक उहाँहरूलाई भनिएकै हो । टीकापुर घटना राजनीतिक घटना हो त्यहीअनुसार व्यवहार गरिनुपर्थ्यो, हालसम्म गरिएको छैन । फेरि पनि ती माग जसले सम्बोधन गर्ने प्रतिबद्धता जनाउँछ, उहाँहरूसँग सहकार्य हुन्छ । त्यो भनेको रिहाइ र सम्मानजनक क्षतिपूर्तिको व्यवस्था गरिनु पर्दछ ।
रासस