जनकपुरधाम – धनुषाको नगराइन नगरपालिकामा रहेको राजेश्वर निधि माध्यमिक विद्यालयका विद्यार्थीहरूले अवरुद्ध पठन पाठन सुचारु हुनुपर्ने माग गर्दै जनकपुर जटही सडक खण्ड अवरोध गरेर प्रदर्शन गरेको छ ।

नगराइन नगरपालिकाको आन्तरिक विवादका कारणले शिक्षकहरूलाई चालु आर्थिक वर्षको शुरु देखि तलब भत्ता पाउन नसकेपछि विगत १५ दिन देखि हडतालमा उत्रेका कारणले विद्यालयमा पठन पाठन अवरुद्ध भएको भन्दै विद्यार्थीहरू विरोध प्रदर्शनमा उत्रेका छन् ।



कक्षा १२ सम्म सञ्चालन रहेको सो विद्यालयका विद्यार्थीहरूले सडक अवरोध गरेर शीघ्र रुपमा पठन पाठन सञ्चालन हुनु पर्ने माग गर्दै नगरपालिकाका उपप्रमुख राधा देवी यादव र प्रमुख विनय यादवका विरुद्धमा नाराबाजी गरेको छ ।

विद्यार्थीहरूले आफूहरूको एक मात्र माग विद्यालयको पठन पाठन सुचारु हुनु पर्ने भएको भन्दै नगरपालिकाको बजेट पास हुन नदिएकोमा उपप्रमुख राधा देवी यादवको विरुद्धमा चर्को नाराबाजी गर्दै घरमा पुगेर केही कुर्सीहरू पनि तोडफोड गरेका छन् ।
नगराइन नगरपालिकामा नगर प्रमुख र १ वडा अध्यक्ष मात्र काँग्रेस निर्वाचित एकोमा उपप्रमुख सहित ७ वडामा एमालेका वडाध्यक्ष निर्वाचित भएको छ भने १ वडामा लोसपाका वडाध्यक्ष निर्वाचित भएका कारणले विवाद भएर बजेट पास हुन नसकेपछि नगरपालिकाका कर्मचारी तथा शिक्षकहरूले तलब भत्ता पाउन वञ्चित भएका छन् ।

नगरपालिका क्षेत्रमा रहेका सबै विद्यालयका शिक्षकहरूले तलब भत्ता पाउन नसकेपछि पठन पाठन अवरोध गरेर शिक्षकहरू पनि आन्दोलनमा उत्रेपछि विद्यालयको पठन पाठन ठप्प भएको छ । शिक्षक तथा कर्मचारीहरूले साउन १ गते देखि हालसम्म तलब भत्ता पाउनबाट वञ्चित भएका छन् ।

यसै बीच आज देखि हुने भनिएको अर्धवार्षिक परीक्षाको कार्यक्रम पनि अवरुद्ध भएपछि विद्यार्थीहरू झनै आक्रोशित बनेका छन् । आफूहरूको पढ्न पाउने अधिकार सुनिश्चित नभए थप कडा रुपमा आन्दोलन गर्ने विद्यार्थीहरूले जनाएका छन् । यसै बीच विद्यार्थीहरूको माग प्रति नगराइन नगरपालिकाका प्रमुख विनय यादवले समर्थन जनाएका छन् ।




