
जनकपुरधाम- नेकपा एमाले जनकपुरधाम उपमहानगरपालिकाका नगर अध्यक्ष सुरेन्द्र भण्डारीले गुठी संस्थानका कर्मचारीलाई कुटपिट गरेका छन ।
भण्डारीले गुठी संस्थान जनकपुरधामका अमिन प्रभात चन्द्र पोखरेलमाथि कार्यकक्षमै हातपात गरेका छन् ।
बिहीवार दिउँसो करिब साढे १२ बजेको समयमा नगर कमिटी अध्यक्ष भण्डारीले पोखरेलमाथि हातपात गरेका छन । गुठी संस्थानले आफ्नो स्वामित्वमा रहेका जग्गा तथा पोखरीहरु लिजमा लगाउने सम्बन्धी गरेको टेण्डर आह्वान भर्नका लागि बिहीवार १२ बजेको समय दिएको थियो ।
टेण्डर दर्ता नगर्न दबाब दिँदै भण्डारीले अमिन पोखरेललाई कुटपिट गरेको पीडितले जनाएका छन् । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ का सञ्जयकुमार मण्डलले टेण्डरका लागि बिहीवार दिउँसो १२ बजेभित्रै आफ्नो टेबलमा फाइल राखेकोले आफूले त्यसलाई दर्ता गर्न लाग्दा एक्कासी आएर भण्डारीले आफूमाथि हातपात गरेको उनले बताए । भण्डारीले आफूलाई सो टेण्डर दर्ता नगर्न दबाब दिएको र आफूले नमान्दा कार्यालय परिसरबाहिर घिसारेर लग्दै आफूमाथि हातपात गरेको अमिन पोखरेलले बताए ।
टेण्डर दर्ता गराउन आएका मण्डलले आफू समयमै गुठी संस्थानमा आएर कर्मचारीको जिम्मामा फाइल छोडिसकेको दाबी गरे । उनले अमिन पोखरेलले दर्ता गरिसकेको अवस्थामा विवाद गर्दै नेता भण्डारीले उनीमाथि हातपात गरेको बताए । नेता भण्डारीले भने आफूले कर्मचारीमाथि हातपात नगरेको दाबी गरेका छन् । उनले अमिन भण्डारीले दिउँसो १२ बजेपछि पनि टेण्डर दर्ता गरेको आरोप लगाए । आफूले उनलाई समयअवधिभित्रै टेण्डर दर्ता गर्न आग्रह गरेको बताए ।
जनकपुरधाम उपमहानगरपालिका–८ स्थित सिट नम्बर १३५५–७५ को कित्ता नम्बर–५८ मा रहेको ७ कट्ठा जग्गाका लागि न्यूनतम मूल्य प्रतिकठ्ठा १० हजार रुपैयाँको दरले गुठी संस्थान प्रधान कार्यालयले कार्तिक २९ गते बोलपत्र आह्वान गरेको थियो । गुठी संस्थान शाखा कार्यालय जनकपुरको गुठी तैनाथी जग्गा लिजमा दिने सम्बन्धी सूचना प्रकाशित भएको ३१ दिनभित्र दिउँसो १२ बजे भित्र वार्षिक भाडादर उल्लेख गरी कुन प्रयोजनको लागि लिजमा लिन खोजिएको हो सो समेत प्रष्ट हुने गरी कार्यालयमा बोलपत्र सही छाप सिलवन्दी गरी दाखिला गराई सक्नुपर्ने सूचनामा उल्लेख थियो ।
तर, भण्डारीले टेण्डर भरेकाहरुलाई आफ्नो प्रभावमा पारी सो जग्गा लिन चाहेको मनस्थिति बनाइ सकेका थिए । मण्डलले टेण्डर दर्ता नभए आफूलाईनै पर्नेमा भण्डारी निश्चिन्त थिए । भण्डारीले कर्मचारी पोखरेललाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ ।-जनकपुरटुडे
भिडियो हेर्नुहोस्