धनुषा- धनुषाको वटेश्वर २ का युवा कृषि उद्यमी गणेश साहलाई विकास रत्न पदकबाट विभुषित हुने भएका छन् ।
संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा सेवा गरेका ९९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् । नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले युवा कृषि उद्यमी साहलाई विकास रत्न मानपदवीबाट विभूषित गर्ने घोषणा गरेकी हुन्।
कृषि उद्यमी साहले आफूलाई सम्मान प्रदान गर्ने सुनेर निकै खुशी व्यक्त गर्दै सरकारलाई हृदयदेखि धन्यवाद ज्ञापन गर्दै उनले भने, 'यस सम्मानले मलाई गौरवान्वित महसुस गराउनका साथै कृषिलाई आधुनिकीकरण गर्दै लैजाने तथा यूवाहरुलाई कृषिमा आकर्षित गर्ने थप उर्जा प्राप्त भएको छ ।'
लामाे समय शिक्षा पेशामा संलग्न साह पछिल्लो केहि वर्ष देखि आफ्नै कृषि फर्म संचालन गरेर कृषि उद्यम तर्फ समेत लागेका हुन् । उनले गरेको कृषि उद्यमको सानो समय मै विकास रत्न मानपदवीबाट सम्मानित हुने अवसर प्राप्त भएको हो ।