जनकपुरधाम । मधेश प्रदेशसभाको शुक्रबार बसेको सातौँ अधिवेशनको नवौँ बैठकमा आर्थिक वर्ष २०८३–८४ को विनियोजन विधेयकमाथिको छलफल सम्पन्न भएको छ।
बैठकमा मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रस्तुत गर्नुभएको विनियोजन विधेयक २०८३ मा समावेश हुने बजेट तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकतामाथि छलफल भएको थियो। छलफलमा १६ जना प्रदेशसभा सदस्यले भाग लिँदै मधेश प्रदेशको आर्थिक तथा सामाजिक रूपान्तरणसँग सम्बन्धित विषयमा आ–आफ्नो धारणा राख्नुभयो।



छलफलका क्रममा अधिकांश सदस्यले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता समग्रमा सकारात्मक रहेको उल्लेख गर्दै कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा केही महत्वपूर्ण विषय समेट्नुपर्ने सुझाव दिएका थिए।
जसपा नेपालका प्रदेशसभा सदस्य संजयकुमार यादवले मधेश विश्वविद्यालय, कृषि विश्वविद्यालय र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले ‘एक निर्वाचन क्षेत्र, एक नमुना विद्यालय’ अवधारणाअनुसार प्रदेशका आठवटै जिल्लामा नमुना विद्यालयका लागि बजेट विनियोजन गर्न आग्रह गर्नुभयो।
नेकपा (एमाले) का प्रमुख सचेतक हरिनारायण महतोले सरकारको नीति तथा कार्यक्रममा एक हजार व्यक्तिलाई रोजगारी दिने उल्लेख भए पनि कुन क्षेत्रमा रोजगारी सिर्जना गरिने भन्ने विषय स्पष्ट नभएको बताउनुभयो। उहाँले शिक्षा क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य जंगीलाल रायले टुक्रे योजना नराख्ने सरकारको प्रतिबद्धताको स्वागत गर्दै विगतमा प्रत्येक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर कालोपत्रे सडक निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो।
नेपाल कम्युनिस्ट पार्टीका प्रदेशसभा सदस्य रत्नेश्वर गोइतले कमला पुल निर्माणलाई आगामी बजेटमा प्राथमिकता दिनुपर्ने बताउनुभयो।
जनमत पार्टी संसदीय दलका नेता चन्दनकुमार सिंहले कृषिलाई प्राथमिकता दिइए पनि केही महत्वपूर्ण विषय छुटेकाले तिनलाई बजेटमा समेट्नुपर्नेमा जोड दिनुभयो।
प्रदेशसभा सदस्यहरूले उठाएका विषयमा जवाफ दिँदै अर्थमन्त्री भट्टराईले स्रोतले भ्याएसम्म र कानुनले अनुमति दिएसम्मका योजना तथा कार्यक्रमलाई न्यायोचित ढंगले बजेटमा समावेश गरिने बताउनुभयो।
उहाँले कृषि र सिँचाइ क्षेत्रलाई प्राथमिकतामा राखिएको जानकारी दिँदै मलखाद, बीउबिजन तथा सिँचाइ सुविधाको विस्तारमा प्रदेश सरकार केन्द्रित रहेको बताउनुभयो। साथै, ‘बेटी पढाऊ, बेटी बचाऊ’ जस्ता कार्यक्रमलाई परिमार्जन गरी निरन्तरता दिइने जानकारी दिनुभयो।
उहाँले अधुरा तथा गौरवका आयोजनालाई सम्पन्न गर्न बजेटमा विशेष प्राथमिकता दिइएको पनि बताउनुभयो। प्रदेशसभाको अर्को बैठक जेठ ३१ गते बस्ने गरी शुक्रबारको बैठक स्थगित गरिएको छ।




