काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्न आज मतदान हुँदैछ । मतदान विहान ८ देखि १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा हुनेछ । संसदीय दलको नेता बन्न सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदैछ । नेता शेखर कोइराला नेतृत्वको समूहले महामन्त्री थापालाई उम्मेदवार बनाएसँगै आफ्नो समूहबाट सर्वसम्मत उम्मेदवार रहेका देउवा र थापाबीच प्रतिस्पर्धा हुँदैछ ।
सभापति देउवाको प्रस्तावक रामचन्द्र पौडेल र समर्थक पूर्णबहादुर खड्का रहेका छन् । यस्तै महामन्त्री थापाको प्रस्तावक नेता शेखर कोइराला बनेका छन् भने समर्थकमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल रहेका छन् ।
पाँच पटक सभापति रहेका देउवा छैटौँ पटक प्रधानमन्त्री बन्न पार्टीको संसदीय दलको नेताको चुनावमा प्रतिस्पर्धामा छन् । महामन्त्री थापा भने पहिलो पटक संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्दैछन्। कांग्रेसमा संसदीय दलको नेता जो बन्छ, उही व्यक्ति प्रधानमन्त्रीको उम्मेदवार बन्ने अभ्यास छ ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसका प्रत्यक्षतर्फ ५७ जना र समानुपातिकतर्फ ३२ जना गरी ८९ सांसद रहेका छन् । संसदीय दलको विधानअनुसार निर्वाचित हुन ५० प्रतिशत मत कटाउनैपर्ने हुन्छ । यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने हुन्छ । देउवा पक्षले ८९ जनामध्ये ५४ जना सांसद आफ्नो पक्षमा खुलिसकेका दाबी गरेको छ । तर कोइराला पक्षका नेताहरू भने आफूहरूको पक्षमा ४० जनाभन्दा धेरै सांसद रहेको र अझै बढ्ने दाबी गर्छन् ।




