जनकपुरधाम । धनुषाको एउटै वडाका दुई जना विद्यार्थी अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित क्याम्ब्रिज शिक्षार्थी पुरस्कारबाट सम्मानित भएका छन् ।
औरही गाउँपालिका–२ का आशिष मिश्र र सोही वडाका अभिषेक यादवले क्याम्ब्रिज इन्टरनेशनल ए–लेभल २०२४ परीक्षामा नेपालमै सर्वाधिक अंक हासिल गर्दै ‘आउटस्ट्यान्डिङ क्याम्ब्रिज लर्नर अवार्ड’ प्राप्त गरेका हुन् ।
केमिस्ट्री विषयमा उत्कृष्ट नतिजा ल्याएका मिश्र र फिजिक्समा सर्वाधिक अंक हासिल गरेका यादवलाई मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा British Council ले औपचारिक रूपमा सम्मान गरेको हो ।
क्याम्ब्रिज ए–लेभल कार्यक्रम विश्वका १०६ देशमा सञ्चालन हुँदै आएको छ । यसअन्तर्गत उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई प्रत्येक वर्ष सम्मान गरिन्छ ।
धनुषाको औरही गाउँपालिका–२ बाट एकै वर्ष दुई विद्यार्थीले फरक–फरक विषयमा राष्ट्रिय शीर्ष स्थान हासिल गर्नु स्थानीय समुदायका लागि गौरवको विषय बनेको छ ।
विद्यालयस्तरदेखि नै उत्कृष्ट शैक्षिक प्रदर्शन गर्दै आएका दुबै विद्यार्थीको सफलताले मधेश प्रदेशकै शैक्षिक वातावरणलाई सकारात्मक पहिचान दिएको सरोकारवालाहरू बताउँछन् ।
१९ वर्षीय आशिष मिश्र यसअघि पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गरिसकेका छन् ।
२०२५ अप्रिल २१ देखि २६ तारिखसम्म Turkmenistan को शिक्षा मन्त्रालयद्वारा आयोजित दोस्रो अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा उनले कास्य पदक जितेका थिए ।
उक्त प्रतियोगितामा नेपाली विद्यार्थीको सहभागिता पहिलोपटक भएको थियो ।
त्यसपछि, ९ जुलाईदेखि २१ जुलाई २०२५ सम्म Australia मा आयोजित ६६औं अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा समेत मिश्रले सहभागिता जनाएका थिए ।
लगातार अन्तर्राष्ट्रिय मञ्चमा उपस्थिति जनाउँदै आएका मिश्रले अध्ययनमा असाधारण क्षमता देखाउँदै आएका छन् ।
शैक्षिक उत्कृष्टताकै आधारमा मिश्रले अमेरिकाको राजधानी वाशिङ्टन डीसीस्थित Howard University मा इन्जिनियरिङ अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।
अन्तर्राष्ट्रिय स्तरको विश्वविद्यालयमा पूर्ण छात्रवृत्ति हासिल गर्नु आफैंमा ठूलो उपलब्धि मानिन्छ ।
फिजिक्स विषयमा नेपालमै सर्वाधिक अंक ल्याएर सम्मानित भएका अभिषेक यादवले पनि आफ्नो मेहनत र निरन्तर अभ्यासका कारण यो सफलता हासिल गरेको बताइएको छ ।
विज्ञान विषयप्रति गहिरो रुचि राख्ने यादवले आगामी दिनमा उच्च अध्ययन तथा अनुसन्धानतर्फ अघि बढ्ने लक्ष्य राखेका छन् ।
दुबै विद्यार्थीको सफलताले औरही गाउँपालिका–२ सहित सम्पूर्ण धनुषा जिल्लामा खुशीको माहोल छाएको छ ।
स्थानीय अभिभावक, शिक्षक तथा जनप्रतिनिधिहरूले यस उपलब्धिलाई जिल्लाको शैक्षिक इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक परिवेशमा मधेशका विद्यार्थीले देखाएको यो सफलता भविष्यका लागि प्रेरणादायी उदाहरण बनेको छ ।
मेहनत, लगनशीलता र दृढ लक्ष्यका साथ अघि बढे अन्तर्राष्ट्रिय मञ्चमा समेत उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने सन्देश यी दुई युवाले दिएका छन् ।




