काठमाडाैँ- नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शपथ ग्रहण समाराेहका लागि दाैरा सुरुवाल लगाउने भएका छन्।विसं २०६५ र २०७३ मा प्रधानमन्त्री हुँदा पनि प्रचण्डले काेटपेन्ट नै लगाएर शपथ ग्रहण गरेका थिए। यसपटक भने उनले दाैरा सुरुवाल लगाएर शपथ ग्रहण गर्ने भएका छन्। जसलाई अर्थपूर्ण मानिएकाे छ।
अर्का नेता अग्नि सापकाेटाले सभामुख बनेपछि पहिलाे पटक दाैरा सुरुवाल लगाएका थिए। यसैगरी कृष्णबहादुर महराले पनि दाैरा सुरुवाल लगाएका थिए।यस्तै, पूर्वप्रधानमन्त्री एवं तत्कालीन नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले देश दौडाहाका क्रममा कर्णाली प्रदेश पुगेकाे बेलामा पहिलोपटक नेपाली राष्ट्रिय पोशाक दौरा-सुरुवाल लगाएका थिए।
माओवादीका नेताहरूले एकल जातीय पहिचान भन्दै दाैरा सुरुवाललाई अस्वीकार गर्दै आएका थिए। माओवादीले राष्ट्रिय पोशाक दौरा-सुरुवाल बदल्नु पर्ने बहससमेत छेडेका थिए।
तर समय फेरिएकाे छ। अहिले उनीहरूकाे दाैरा सुरुवालमा रुचि बढ्दै गइरहेकाे छ। राष्ट्रपति कार्यालय स्रोतका अनुसार साेमबार अपराह्न ४ बजे प्रचण्डकाे शपथ तय गरिएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री बनेका हुन्। यससँगै उनी नेपालका ४४ औँ प्रधानमन्त्री बनेका छन्। प्रचण्डलाई नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय उन्मुक्ति पार्टीको समर्थन छ।
स्वतन्त्र ४ सांसदसहित १६९ जना सांसदको समर्थन प्रचण्डलाई छ।