
जनकपुरधाम- संघमा नेकपा एमालेसहित सातको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भए पनि मधेश प्रदेश सरकार गठनमा अझै अन्योलता कायमै रहेको देखिन्छ ।
अंक गणितको हिसाबले नयाँ बनेको सात गठबन्धन, एमाले, माओवादी केन्द्र, जसपा, जनमत, राप्रपा, नागरिक उन्मुक्ति पार्टीहरु मिलेर मधेश प्रदेशका बलियो सरकार बनाउन सक्छन् ,तर मधेश प्रदेश सरकारको नेतृत्व गर्ने सबालमा मधेश केन्द्रित दुई दल जसपा र जनमतबीच सहमति हुने वातावरण नदेखिएपछि प्रदेश सरकार गठनको विषय अझै अन्योलमा देखिन्छ । हुनत एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मधेश सरकारको नेतृत्व आधि– आधि कार्यकाल जसपा र जनमतलाई दिने विषयमा मोटामोटि सहमत भइसकेका छन्, तर सरकारको पहिलो चरणको नेतृत्व कसलाई दिने विषयमा उनीहरु पनि कुनै धारणा सार्वजनिक गरेका छैनन् ।
यता, दुबै दलका नेता प्रदेश सरकारको आधि–आधि कार्यकाल संचालन गर्ने विषयमा सहमति हुनसक्ने धारणा राखे पनि सरकारको पहिलो अवधिको नेतृत्व आफूले नै गर्न पाउनुपर्ने अडान लिइरहेको देखिन्छ । हुनत जसपाले प्रचण्ड नेतृत्वको सरकारको समर्थन गरे पनि औपचारिक रुपमा अझै आफ्ना मागबारे कुनै धारणा अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन । यद्यपि जसपा भित्र चल्ने आन्तरिक छलफलमा उपराष्ट्रपति, केन्द्रमा तीन मन्त्रालय र मधेश सरकारको नेतृत्वको माग गर्ने विषय उठने गरेको जसपाका एक नेताले बताए । त्यसैगरी, जनमतले केन्द्रमा दुई मन्त्रायलसहित मधेश प्रदेश सरकारको नेतृत्वको दाबी गर्दै आएको छ । तर दुबै दलले अहिलेसम्म आफ्नो माग बारे गठबन्धन दलसंग गम्भीर भइ कुरा अझै राख्ने सकेको छैन । अर्थात मधेश सरकारको नेतृत्वको विषयमा नयाँ गठबन्धन दल भित्र अहिलेसम्म कुनै गम्भीर छलफल हुन सकेको छैन ।
जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले भने,‘हामीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन दिएका छौ, नयाँ गठबन्धनमा सहभागी भएका छैनौ, समर्थन दिनु र गठबन्धन सहभागी हुनु दुबै अगल अलग कुरा हो । त्यसकारण अहिलेसम्म हामी सरकारमै जान्छौ भने अवस्था आएको छैन ।’
प्रचण्ड नेतृत्वको सरकारमा भए वा नभए पनि मधेश प्रदेशमा भने आफ्नो नेतृत्वमा सरकार बनाउन पार्टीले गृह कार्य गरिरहेको उनले स्पष्ट गरे । एक प्रश्नमा उनले भने,‘ जनमत नेतृत्वको सरकारमा हामी जादैनौ, जसपाले आफ्नो नेतृत्वमै सरकार बनाउने प्रयास गर्छ । त्यो नयाँ गठबन्धनबाट होस् वा कांग्रेससहितकोसँग मिलेर होस् । तर केन्द्रमा भने प्रचण्ड नेतृत्वकै सरकारलाई तत्काल समर्थन रहन्छ ।’
यता,जनमत पार्टीका केन्द्रीय सदस्य विपी साहले मधेश प्रदेश सरकारको पहिलो खेपको नेतृत्व जनमतले पाउनु पर्ने दाबी गरे । उनले भने,‘ जसपाले पाँच सालसम्म सरकारको नेतृत्व गरे, तर खासै केही गर्न सकेनन् । विकास निर्माणदेखि विभिन्न कार्यक्रमहरुमा भ्रष्टाचार भएको जग जाहेर छ । त्यस्तो अवस्थामा जसपा नेतृत्वको सरकारको सामेल भएर जनमत पार्टी त्यसको अपजसको भागिदार बन्न सक्दैनन् ।’पहिलो खेपमा मुख्यमन्त्री नपाएपछि नयाँ गबठन्धनमा बस्ने वा नसक्ने विषयमा पार्टीले पुनः विचार गर्नसक्ने उनको भनाइ थियो ।