
धनुषा- मधेस प्रदेशसभा अधिवेशनको पहिलो बैठकले प्रदेश सभा सभामुखको निर्वाचन माघ २ गते गर्ने निणर्य गरेको छ ।
प्रदेशसभा सचिवालयका निमित्त सचिव रंजितकुमार यादवलाई सभामुख निर्वाचनका लागि निर्वाचन प्रक्रियाको सूचना पुस २९ गते सार्वजनिक गर्न बैठकले निर्देशन दिएको छ ।
प्रदेशसभा मधेश प्रदेशको पहिलो अधिवेशनको पहिलो बैठकलाई अध्यक्षता गर्दै सुरु मै प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले प्रदेशसभाको पहिलो अधिवेशन प्रारम्भ भएको भनि प्रदेश प्रमुख हरिशंकर मिश्रले पठाएको पत्र पढेर अधिवेशन सुरु भएको जानकारी गराउनुभएको थियो । आजको बैठकको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य न्यौपानेले प्रदेश प्रमुखले पठाएको पत्र पढेपछि बैठकमा सहभागी प्रदेशसभा सदस्यहरूलाई स्वागत र बधाइ ज्ञापन गर्दै प्रदेशसभा सञ्चालनका लागि प्रदेशसभाको कार्य सञ्चालन नियमावली २०७५ पारित गर्न निणर्यार्थ प्रस्तुत गर्नुभयो । सो प्रस्ताव सर्वसम्मतले पारित गरेको थियो ।
बैठकले प्रदेशसभा कार्यसञ्चालन नियमावली २०७५ अनुमोदन गर्नुका साथै नियमावलीको नियम ११ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यको मनोनयन गरेको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले जानकारी दिए । मनोनित सदस्यहरुमा सांसदहरु रेखा ठाकुर, बच्चा राउत अहिर, चन्दनकुमार सिंह, जितेन्द्रप्रसाद सोनार, फकिरा महतो र रत्नेश्वर गोइत रहेका छन् ।
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले विगत पाँच वर्षमा प्रदेश सरकारले संविधान र सङ्घीयताको सफल कार्यान्वयनका लागि कानुन निमाणर्को कामलाई प्राथमिकतामा राखेर काम गरेको बताउनुभयो । अहिलेसम्म ५५ वटा विधेयक प्रदेशसभाबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भइसकेको जानकरी दिनुभयो ।
मुख्यमन्त्री राउतले अझै पनि सङ्घीयता कार्यान्वयनमा चुनौती रहेको बताउँदै उहाँले सङ्घीयता कार्यान्वयन गर्न मधेस प्रदेशलाई अझ बढी चुनौती रहेको जिकिर गर्नुभयो।
नयाँ सरकारलाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने बताउँदै मुख्यमन्त्री राउतले सबै दल एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको समन्वयमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।
“चुनौतीका बीच प्रदेश सभाबाट प्रदेश प्रहरी ऐन, प्रदेश निजामती ऐन बनाउँदा सबै दलको सहयोग सरकारका लागि महत्व राख्दछ”, उहाँले भन्नुभयो, “ऐन र नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित गर्न सकारात्मक सहयोग प्राप्त भयो ।”
सङ्घीयता कार्यान्वयन कै लागि सङ्घीय सरकार विरुद्ध दर्जनभन्दा बढी मुद्दा दायर गर्नुपरेको पनि उहाँले बताउनुभयो । देशमा मधेस प्रदेशले मात्र सङ्घीयता टिकाएको दाबी गर्दै मुख्यमन्त्री राउतले प्रदेश सांसद एकताबद्ध भएर अगाडि बढेमात्रै सङ्घीयता कार्यान्वयन हुने उल्लेख गर्नुभयो ।
स्रोत, साधनको अभावबीच पाँच वर्षको यात्रा निकै कष्टकर भएको पनि मुख्यमन्त्री राउतको गुनासो रहेको थियो ।
मुख्यमन्त्रीका रूपमा काठमाण्डौ जाँदा तीनकुनेमा गाडी बिग्रिएर अलपत्र परेको अनुभव पनि उहाँले सुनाउनुभयो । पाँच वर्षे कार्यकालमा कार्यकक्ष र कर्मचारी अभावले भनेजस्तो काम गर्न नसकेको पनि उहाँको भनाइ थियो ।
त्यसैगरी पूर्वसभामुख सरोज यादवले अघिल्लो प्रदेशसभाको अन्तिम अधिवेशन हतारमा अन्त्य गरेकाले आफूले धन्यवादसम्म भन्न नपाएको गुनासो गर्दै आगामी दिनमा दलहरुको सहमतिमा मात्रै अधिवेशनको आह्वान र अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले अघिल्लो सरकारले जनताको पक्षमा गर्न नसकेका काम आगामी सरकारले पूरा गर्ने विश्वास व्यक्त गर्नुभयाे।
सभामा मन्तव्य राख्ने अधिकांश सांसदहरुले सङ्घीयता, लोकतन्त्र र संविधानको रक्षा गर्दै मधेश प्रदेशका आवश्यकता पूर्ति र विद्यमान समस्याको समाधान गर्न पार्टीभन्दा माथि उठेर सहकार्य गर्नुपर्ने धारणा राखेका थिए ।
सभामा प्रदेशसभा सदस्य राजकुमार लेखी, कृष्णप्रसाद यादव, राजकुमार गुप्ता, वसन्तप्रसाद कुशवाह, जितेन्द्रप्रसाद सोनार, युवराज भट्टराई, बेची लुङ्गेली, कञ्चन बिच्छा, बिमला अन्सारी तरन्नुम, उर्मिलादेवी सिंह, अनिरुद्धकुमार सिंह, केशव राय, प्रमोदकुमार जयसवाल, र सुनिताकुमारी साहले सम्बोधन गरेका थिए । प्रदेशसभाको अर्को बैठक आगामी माघ २ गते बस्ने छ ।