
महोत्तरी-बर्दिवास नगरपालिकाका मेयर प्रहलाद कुमार क्षेत्रीले नगरपालिका भित्रका अवैध क्रसर र अबैध उत्खननको आफू सख्त विरोधी भएको बताएका छन् ।
शिरीष न्युज संग संक्षिप्त कुराकानी गर्दै मेयर क्षेत्रीले भने, “कुनै पनि कार्य कानुन सम्मत ढंगले गरिनु पर्ने र सबै अवैध बन्द गरिनु पर्छ, कानुनी प्रक्रिया भित्र आएर वैधानिक ढंगले मात्र उद्योग संचालन र उत्खनन हुनु पर्छ, र यसको लागि मैले कुनै पनि कसर बाँकी राख्नेछैन।”
मेयर क्षेत्रीले आफ्नो टिमले जितेर कार्यभार सम्हाले देखिनै नगर भित्र कुनै पनि किसिमको अवैध उत्खनन् नभएको दाबि गर्दै उनले यहाँबाट उत्पादन भएर जाने मालको लागि मात्र प्रहरी प्रशासनले कहिले काँही गाडीहरु पक्राउ गरेको बताए। उनले आफ्नो पालामा अहिले सम्म एउटा पनि अबैध उत्खनन गरिरहेको अवस्थामा गाडी पक्राउ गरिएको फेला नपरेको बताउँदै उनले अवैध उत्खनन पूणर्रुपले बन्द रहेको दाबि गरे।
उनले कार्यपालिकाबाट नै मापदण्ड विपरित अवैध उत्खनन् रोक्ने भनि निणर्य गरिएको जानकारी दिंदै सबै वडा अध्यक्ष, नगरप्रहरी र कर्मचारीहरुलाई त्यस्तो गतिविधि देखिए तुरुन्त खबर गर्न निर्देशन समेत गरिएको बताए ।
उनले क्रसर व्यवासी भन्दा पनि निर्माण व्यवसायीहरुको गाडी कुनै कुनै बेला पक्राउ परेको जानकारी गराउँदै उनले निर्माण व्यवासीहरु पनि अहिले मुद्दामा समेत गएको हुँदा सम्मानित अदालतको जे फैसला आउँछ, त्यो मान्न स्थानीय सरकारले तयार रहेको बताए।
मेयर क्षेत्रीले आफू विधि र विधानमा चल्ने भएकोले अरुलाई पनि कानुन सम्मत र विधि विधान अनुरुप चल्न अनुरोध गरे।
मेयर क्षेत्रीले नेपाल सरकारले सबै प्रक्रिया पुरा गरेर मात्र कुनै पनि उद्योगलाई संचालनको अनुमति दिने गरेको हुँदा त्यस्ता उद्योगले मापदण्ड विपरित अवैध रुपमा संचालन र उत्खनन गरिएको पाइए कानुन अनुसार कारबाही गर्न र गराउनलाई आफू सदैव तयार भएको बताए ।
भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई छिट्टै लालपुर्जा वितरण गरिने
निर्वाचनमा समेत लालपुर्जा वितरण प्रक्रियालाई मुख्य प्राथमिकतामा राखेका मेयर क्षेत्रीले अब छिट्टै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने बताए ।

मेयर क्षेत्रीले यसअघि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्नका लागि विगतको स्थानीय सरकारले गरेको कामको सम्पूणर् स्वामित्व अहिलेको सरकारले लिने बताउँदै उनले भने, “राम्रो कामलाई राम्रो भन्नुपर्छ, यसअघिको सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न गरेको प्रयत्नलाई वर्तमान सरकारले अघि बढाउँछ । यद्यपि अहिले मिति नै तोकेर जग्गाधनी प्रमाणपुर्जा वितरण हुने दिन तोक्न सकिने अवस्था छैन।”
उनले विगतको स्थानीय सरकारले बर्दिवास नगरक्षेत्रमा नापजाँचको काम सम्पन्न गरिसकेको अनुसार नापी कार्यअन्तर्गत नौ हजार ४५९ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिएको जानकारी दिए ।
मेयर क्षेत्रीले अब यहाँको लालपुर्जा वितरणमा ढिलाइ गर्न नहुने सुकुम्बासी आयोग संग आग्रह गरे।
अहिले नगर क्षेत्रमा नौ सय १३ जना पूर्ण भूमिहीन सुकुम्बासी, चार सय ८९ जना दलित भूमिहीन र आठ हजार एक सय ७४ जना अव्यवस्थित बसोबासी छन् ।
यसमध्ये वडा नम्बर ४ का ३१ पूणर् भूमिहीन परिवारलाई लालपुर्जा वितरणको तयारी थालिएको बताए ।
उनले यसका लागि वन कार्यालय, नापी कार्यालय र आयोग संग प्रक्रिया मिलाउने कुरामा आवश्यक छलफल भई रहेको बताउँदै उनले भने, “विगतको सरकारले जग्गा नापी गर्दा कन्सल्टेन्सी मार्फत गराउँदा नापी कार्यालयलाई सहभागी नगराएको हुँदा समस्या उत्पन्न भएको हो ।”
मेयर क्षेत्रीले अब नापी कार्यालयको रोहवरमा कार्यालयको प्रतिनिधिको उपस्थितीमा नै नापजाँच भएको जग्गालाई प्रमाणिकरण गरेर यो समस्या समाधान गरिने तयारी नगरपालिकाले थालेको बताए ।
जुनसुकै हालतमा नगरभित्र नै वर्दिवास मेडिकल कलेज निर्माण हुन्छ
मेयर क्षेत्रीले जुनसुकै हालतमा नगरभित्र नै वर्दिवास मेडिकल कलेज निर्माण हुने दाबि गरेका छन् ।
मेयर क्षेत्रीले बर्दिवास मेडिकल कलेज निर्माणकाले लागि अहिले तोकिए वन क्षेत्रको जग्गा भन्दा नेपाल सरकारले अर्को बैकल्पिक जग्गा उपलब्ध गराउने सम्बन्धी परिपत्र गरेको २४ घण्टा भित्र अर्को जग्गा नगरपालिकाले उपलब्ध गराउने जानकारी दिए ।

मेयर क्षेत्रीले अहिले नेपाल सरकारको वनको जग्गामा मेडिकल कलेज निर्माणको सम्बन्धमा सर्वोच्च अदालतमा परेको मुद्दाको फैसला भएर अर्को बिकल्प खोज्ने आदेश आए लगतै अर्को जग्गा उपलब्ध गराउने नगरपालिकाले तयारी र बिकल्प खोजी सकेको जानकारी दिए ।
उनले भने, “वर्दिवास मेडिकल कलेज जसरी पनि यस नगरभित्र नै निर्माण हुन्छ । यसमा वर्दिवासवासी ढुक्क हुँदा हुन्छ। त्यस्तो परिस्थिती आयो भने नगरकार्यपालिका भित्र आन्तरिक तयारी भईसकेको छ।”