
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत पाएका छन् ।
सातदलीय गठबन्धनको समर्थनबाट प्रधानमन्त्री बनेका प्रचण्डलाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समेत विश्वासको मत दिएको थियो ।
प्रधानमन्त्री प्रचण्डले ‘विश्वासको मत पाउँ’ भनि राखेको प्रस्तावको पक्षामा २६८ मत पाउँदा विपक्षमा २ जना सांसदहरू देखिए ।
आजको प्रतिनिधि सभा बैठकमा २७५ मध्ये २७० जना सांसदहरूको सहभागिता रहेको थियो । प्रचण्डले पाएको यो मत ९९ प्रतिशत हो ।

प्रधानमन्त्री प्रचण्डलाई उनकै दल नेकपा (माओवादी केन्द्र) सँगै नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, आम जनता पार्टी र २ स्वतन्त्र सांसदहरूले मत दिए ।
मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङसँगै अन्य ४ सांसदहरू भने अनुपस्थित रहे ।
यस्तै प्रतिनिधि सभामा १/१ सिट भएको राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीले भने प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएनन् ।
प्रधानमन्त्री प्रचण्डले पाएको विश्वासको मत इतिहासकै बढी हो । यसअघि २०५१ सालमा मनमोहन अधिकारीले दुईतिहाइ अर्थात् १९८ सांसदले विश्वासको मत पाएका थिए ।