काठमाडौं- १६ दिन अगाडी आफ्नो गठबन्धन छाडेर नेकपा एमालेसँग सहकार्य गर्न गएका पुष्पकमल दाहाल प्रचण्डलाई नेपाली कांग्रेसले विश्वासको मत दिएको छ।
योसँगै प्रचण्ड इतिहासमै प्रचण्ड समर्थनसहित (९८ प्रतिशत) प्रधानमन्त्री बन्ने पहिलो प्रधानमन्त्री बन्न सफल भएका छन्।
प्रधानमन्त्री, राष्ट्रपछि र सभामुख तीन वटै पद नछाड्ने भन्दै अडान लिएपछि माओवादी अध्यक्ष प्रचण्ड १० माघमा एमालेसँग गठबन्धन गर्दै प्रधानमन्त्री भएका थिए।
सरकार गठनको लागि राष्ट्रपतिकहाँ बहुमत सांसद संख्याको हस्ताक्षरसहित उपस्थित हुन जाने समय नजिकिँदै गर्दा गठबन्धनमा कुरा नमिलेपछि सत्ता गठबन्धन भत्किएको थियो। विपक्षी नेकपा एमालेको नेतृत्वमा नाटकीय ढङ्गमा नयाँ गठबन्धन बनेर प्रचण्ड प्रधानमन्त्री बन्न सफल भए।
झन्डै १८ महिनादेखि आफ्नो नेतृत्वको गठबन्धनमा रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई चुनावपछि साथमा राख्न नसकेपछि केन्द्रदेखि प्रदेशका सबै सरकार गुमायो। सभापति शेरबहादुर देउवाको आफ्नै प्रधानमन्त्री बन्ने हट कारण गठबन्धन तोडिएको भन्दै पार्टीबाट समेत आलोचित बने।
आलोपालो सरकारको नेतृत्व गर्न सहमति गरेका कांग्रेस सभापति देउवाले माओवादी अध्यक्ष प्रचण्डलाई सत्ता हस्तान्तरण गर्न नमानेपछि पार्टीको हातबाट सत्ता फुत्कियाे। कांग्रेसभित्र विवाद चर्कियो। केन्द्र सरकारदेखि प्रदेश सरकारसम्म विपक्षमा रहने देखिएको एमाले सत्ताको केन्द्रमा आएपछि प्रधानमन्त्रीमा प्रचण्डलाई कांग्रेसले विश्वासको मत दियो।
सुरुमा ७ दलिय गठबन्धनबाट प्रधानमन्त्री बनेका प्रचण्ड मंगलबार विश्वासको मत लिँदासम्म संसदमा कांग्रेसको समेत समर्थन प्राप्त गर्न सफल भए। प्रचण्डलाई विश्वासको मत दिएर संसदबाट बाहिरिने क्रममा टिप्पणी गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले यस घटनालाई बिम्बात्मक रूपमा सुनाए।
उनले भने, ‘‘घरजम छँदा प्रेम टुट्यो, डिभोर्स भइसकेपछि माया बस्यो भने जस्तो अवस्था आज संसदमा देखियो ।’’कुनै जोडीले भागेर विवाह गरिसकेपछि बोलाएर टिकोटाला गर्नुपर्छ या पर्दैन भनेर परिवारका सदस्यहरूको बीचमा फरक मत आएको जस्तै कांग्रेस बैठकमा पनि कुरा आएको बताए। ‘‘विवाह गरेर गइसकेको जोडीलाई बोलाएर टिका टालो गर्दै गर्दा सबै सामेल हुनु पर्दोरहेछ’ उनले पत्रकारसँग भने।
गठबन्धन बनाएर चुनाव लडेका कांग्रेसले पूर्व सहमति प्रचण्डलाई प्रधानमन्त्री पद छाड्न तयार भएको भए अहिले एमाले प्रतिपक्षमा हुने थियो। १० पुसमा माओवादी अध्यक्ष प्रचण्ड गठबन्धन छाडेर हिँडेकै कारण एमाले नेतृत्वमा अहिलेको गठबन्धन बन्यो।
कांग्रेसले सत्ता गठबन्धन जोगाउन नसक्दा एमाले नेतृत्वमा, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतको गठबन्धन बनेको हो। तर, कतिपय नेताहरू नयाँ गठबन्धन बने पनि प्रचण्डले विश्वासको मत नपाउने भन्दै हिँडेका थिए।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफर गरेको गठबन्धनमा बहुमत नपुर्याउन रणनीति बनाएको चर्चा समेत चल्यो। तर त्यो प्रयास असफल भएपछि कांग्रेसमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने पक्षमा माहौल बनेको नेताहरूको दाबी छ।
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा राष्ट्रपति निर्वाचनमा पुग्दासम्म राजनीतिक परिस्थिति आफ्नो अनुकूल हुने कांग्रेस संस्थापन पक्षका नेताहरूको दाबी छ। एमाले र माओवादी (ओली–प्रचण्ड)बीच विग्रह सुरु गराउने र आफ्ना पार्टीका राष्ट्रपतिका उम्मेदवारलाई जिताउन रणनीति अख्तियार गर्ने कांग्रेसको योजना रहेको कतिपयको टिप्पणी छ।-नेपालभ्युज


