
जनकपुरधाम- जसपा नेतृत्वको मधेस सरकारसंग केही दिन यता असन्तुष्ट रहँदै आएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक मन्त्रालय सहित मधेस सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा लोसपा नेपालबाट सरकारमा सहभागी हुँदै पर्साको निर्वाचन क्षेत्र नम्बर-२ (ख)बाट निर्वाचित प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मीले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
कुर्मीलाई बिहीबार साँझ प्रदेश प्रमुख हरिशंकर मिश्रले वन तथा वातावरण मन्त्रीको रुपमा शपथ ग्रहण गराएका छन्। कुर्मीलाई मुख्यमन्त्री यादवले आफैंसँग राखेको वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका छन्। अब वन तथा वातावरण मन्त्रालयको राज्यमन्त्रीको नाम भने लोसपाभित्र टुंगो लाग्न बाँकी रहेको छ ।
राज्यमन्त्रीको नाम पछि टुंगो लाग्ने बताइएको छ । सत्तारूढ गठबन्धनको बैठकले मधेसमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएसँगै पहिलो चरणमा जसपाले सरकारको नेतृत्व गरिरहेको छ । योसँगै मधेस प्रदेशमा अब पाँचौपटक मन्त्रिपरिषद विस्तार भएको छ ।
यसअघि मंगलबार मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी गराई चौथोपटक मन्त्रिपरिषद विस्तार गरेका थिए। मधेस सरकारमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार विकास मन्त्रालय र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने नेकपा एकीकृत समाजवादीबाट गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रालयको जिम्मेवारी दिइएको छ।
मुख्यमन्त्री यादवले गृह सञ्चार तथा कानुन मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय भने अहिले पनि आफूसँगै राखेका छन्।