जनकपुरधाम - मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले आज शुक्रबार पद तथा गोपनीयताको शपथ लिंदैछन् ।
बुधबार मुख्यमन्त्री नियुक्त हुनुभएको यादवले शुक्रबार मधेस भवन स्थित प्रदेश प्रमुखको कार्यालयमा दिउँसो १२ बजे शपथ लिने कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।
जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।
मन्त्रालय भागबन्डाका विषयमा सत्तासाझेदार दलबीच सहमति जुट्न नसको कारण आज मुख्यमन्त्री यादवले मात्र शपथ लिने अहिलेसम्मको तयारी रहेको बताइएको छ।
मधेस प्रदेशमा १० वटा मन्त्रालय छन् । प्रदेशमा जसपा र जनमत आधा कार्यकाल सत्ताको नेतृत्व गर्ने सहमति गरेको छ । मुख्यमन्त्री यादवले नियुक्तिकै दिन मन्त्रालयको संख्या बढाउने वा घटाउने काम नगरिने जनाएका थिए ।
मन्त्रालय भागबन्डाका लागि आफूहरू बैठक बस्न लागेको जनमत पार्टी प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादवले जानकारी दिए।
केन्द्रीय नेताहरूले मधेसका प्रमुख तीन पदको टुंगो लगाइसकेका छन् । सो अनुसार मुख्यमन्त्री जसपाले पाएको हो । सभामुख नेकपा (एमाले) र उपसभामुख जनमतले पाउने सहमति छ ।
जनमतले उपसभामुख बाहेक तीन ‘ठूला’ मन्त्रालय मागेको छ । सो पार्टीको प्रदेश संसदीय दलका नेता यादवले आफूहरूले सामाजिक विकास, भौतिक पूर्वाधार र एउटा कुनै प्रशासनिक मन्त्रालय पाउनुपर्ने बताए ।
जसपाले मुख्यमन्त्री बाहेक थप दुई मन्त्रालय पाउनुपर्ने दाबी गरेको छ । जसपाले अर्थ र गृह तथा सञ्चार मन्त्रालय मागेको छ ।
आन्तरिक विवादका कारण नेकपा (माओवादी केन्द्र)को हालसम्म संसदीय दलको नेता चयन गरिएको छैन ।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री भरतप्रसाद साहले शुक्रबार बैठक बसेर दलको नेता चयन गरिने जानकारी दिए ।
सबै दलले एउटा÷एउटा ‘प्रमुख’ मन्त्रालय पाउने एक चरणको सहमति भएको साहको भनाइ छ ।
नेता साहले माओवादीले ‘सन्तोषजनक’ मन्त्रालय नपाए केन्द्रीय नेताहरूले नै तय गर्ने बताउनुभयो। कति र कुन मन्त्रालयमा दाबी गरिएको भन्नेबारे उहाँले खुलाएनन् ।
मधेस प्रदेशको सबैभन्दा ठूलो दल एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले चार विकासे मन्त्रालयमध्ये सबै दलले एक÷एकवटा लिएर शपथग्रहण गर्ने तयारी रहेको बताए। यद्यपी अहिले यसबारे टुंगो लाग्न सकेको छैन।
भौतिक पूर्वाधार, कृषि, वन तथा वातावरण र सामाजिक विकास मन्त्रालयमध्ये सत्तासाझेदारका प्रमुख दलहरूले एउटा÷एउटा पाउने एमाले नेता मण्डलले जानकारी दिए।
जनता समाजवादी पार्टी (जसपा) र एमाले तीन÷तीन, जनमतले दुई र माओवादी केन्द्रले एक मन्त्रालय पाउने सम्भावना छ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)लाई पनि सरकारमा ल्याउने गृहकार्य भइरहेको छ । बाँकी रहेको एक मन्त्रालय लिएर लोसपा सरकारमा सहभागी हुन तयार देखिएको छ ।
बुधबार मुख्यमन्त्रीलाई समर्थन नगरे पनि आज समर्थनपत्र प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष पठाइने लोसपाका नेताहरूले बताएका छन् ।
मधेस प्रदेशसभामा लोसपाका नौ सांसद छन् । लोसपाले समर्थन गरे मुख्यमन्त्री यादवले ७२ सांसदको साथ पाउनेछन् ।
अहिले मुख्यमन्त्रीलाई एमालेका २३, जसपाका १६, जनमतका १३, माओवादीका सात, नेपाल संघीय समाजवादीका एक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक, स्वतन्त्र सांसदद्वय अनुरुद्ध सिंह र सुरिता साहले समर्थन गर्नुभएको छ । यहाँ माओवादीका नौ सांसद भए पनि दुईजनाको शपथ रोकिएको छ ।
लोसपा बाहेक नेपाली कांग्रेस र एक सांसद रहेको नागरिक उन्मुक्ति पार्टीले सरकारलाई समर्थन गरेका छैनन् ।