काठमाडौं। नेताहरूले अनावश्यक रूपमा लिएको व्यक्तिगत सुरक्षा गार्ड (पिएसओ) गृह मन्त्रालयले खोस्ने प्रक्रिया अघि बढाइरहँदा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यक्तिगत सुरक्षाकर्मी माग गरेका छन्।
आफूलाई सुरक्षा जोखिम बढेको भन्दै बालेनले जिल्ला प्रशासन कार्यालय काठमाडौं समक्ष माग गरेका हुन्।



सुरक्षा कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्ने क्रम चलिरहेको छ। कतिपय नेताले सुरक्षा जोखिमभन्दा रवाफ र व्यक्तिगत सहयोगीका रूपमा प्रहरी लिने गरेका छन् ।
तर सुकुमबासी बस्तीमा बल प्रयोग गरी हटाउने प्रयास गरेपछि आफूमाथि जोखिम बढेको भन्दै मेयर बालेनले व्यक्तिगत सुरक्षाकर्मी मागेका हुन्।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग बालेनले पिएसओ माग गरेका हुन्। लिखित निवेदन भने नदिए पनि मौखिक रूपमा मागेको जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले बताए।
काठमाडौंमा अतिक्रमण हटाउने कामलाई तीव्रता दिएपछि आफूमाथि धम्की बढेको मेयर बालेनले बताएका छन्। मेयर साहले पिएसओ पाउने सम्भावना रहेको गृह मन्त्रालयका एक अधिकारीले बताए।
गृह मन्त्रालयको निर्देशनपछि कार्यविधिविपरीत खटिएका नेपाल प्रहरीका एक सय ९० जना तथा सशस्त्र प्रहरीमा एक सय २६ जना फिर्ता गरिएका छन्।




