
धनुषा- मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशका सबै निकायलाई तीन महिना भित्र भ्रष्टाचार मुक्त बनाउने दावी गर्नुभएको छ।
बुधबार प्रदेशसभाबाट विश्वासको मत लिए लगत्तै मुख्यमन्त्री यादवले सञ्चारकर्मीमाझ मुख्यमन्त्री नियुक्त भएको दिन नै आफूले भ्रष्टाचारालाई शुन्यमा पुर्याउने प्रतिवद्धता जनाएको र सोही कुरालाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।
मुख्यमन्त्री यादवले भ्रष्टाचार छानवीनका लागि आफूले ५ सदस्यीय छानवीन समिति गठन गरेको पनि स्मरण गराउँदै उहाँले सबै दललाई साथमा लिएर आफू अघि बढने कार्ययोजना समेत सार्वजनिक गर्नुभयो । सरकारको नीति तथा कार्यक्रम समेत सबै दलसँग छलफल गरेर ल्याउने उहाँको भनाई थियो ।
मुख्यमन्त्री यादवले भन्नुभयो, “मेरो पहिलो प्राथमिकता भ्रष्टाचारलाई नियन्त्रण गर्ने हो । अव मैले तीन महिना भित्र प्रदेश सरकारका कार्यालयहरुमा भ्रष्टाचार शुन्यमा झार्छुु र सबै दललाई मिलाएर एकसाथ लग्नेछु ।”
उहाँले सरकारको नीति तथा कार्यक्रम र बजेट सबै दलसँग छलफल गरेर ल्याउने र आवश्यक पर्यो भने पुरक बजेट पनि ल्याउन सकिने बताउनुभयो।
मधेस प्रदेशका मुख्यमन्त्री यादवलाई ‘ऐतिहासिक’ विश्वासको मत
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले ऐतिहासिक र अदभूत विश्वासको मत प्राप्त गर्नुभएको छ।
मुख्यमन्त्री यादवले प्रदेश सभाको सबै दल र सबै सांसदको विश्वासको मत पाएर मधेस प्रदेश सभाको इतिहासमा नयाँ रेकर्ड दर्ज गराउनुभएको छ।
मुख्यमन्त्री यादवले विश्वासको मत लिने वेलामा सभामा उपस्थित एक सय दुई सांसदमध्ये मत विभाजन हुँदा एक सय दुईजना सांसदले नै पक्षमा मतदान गरी विश्वासको मत दिएका हुन्। अर्थात् मुख्यमन्त्री यादवले शतप्रतिशत विश्वासका मत प्राप्त गर्नुभयो।
मधेस प्रदेशका विपक्ष दल नेपाली कांग्रेस,नेकपा एकीकृत समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिएको छ।
कांग्रेसका मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवले संघीयतालाई संस्थागत विकास र सरकारलाई अस्थिरताबाट जोगाउन विश्वासको मत दिएको बताउनुभयो ।
विश्वासको मत दिएर पनि आफ्नो पार्टी प्रदेश सभामा प्रमुख प्रतिपक्षको भूमिकामा रहने नेता यादवले बताउनुभये। एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीले पनि संघीयतालाई स्थायित्व दिने उद्देश्यले विश्वासको मत दिएको जनाएको छ।
यसरी वर्तमान मुख्यमन्त्रीलाई सत्तारूढ गठबन्धन दलहरू जसपा, नेकपा एमाले, माओवादी केन्द्र, जनमत, लोसपा, नेपाल संघीय समाजवादी पार्टी, राप्रपाका साथै विपक्षी दल कांग्रेस, उकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र निर्वाचित सांसदहरूले पनि विश्वासको मत दिएका छन्।
सरकारमा कांग्रेस आएपनि आपती छैन : एमाले
मधेश प्रदेशको पहिलो दल एमालेका संसदीय दलका नेता सरोज कुमार यादवले कांग्रेसले बिश्वासको मत पनि दिने र प्रतिपक्षमा पनि बस्ने कुरा सुहाउदो नरहेपनि मुख्यमन्त्रीले कांग्रेसलाई पनि सरकारमा ल्याउँदा समेत आफुहरुलाई केहि फरक नपर्ने बताउनुभयो।
सरकारमा जान्नौं : कांग्रेस
कांग्रेसले भने सरकारको सकारात्मक कामलाई सहयोग गर्ने र नराम्रा कामहरुको आलोचना गर्ने भन्दै सरकारमा नगई प्रतिपक्षमै बस्ने बताएका छन्। काँग्रेस संसदीय दलका नेता तथा मधेस प्रदेशका सभापति कृष्ण प्रसाद यादवले आफुहरु सरकार बनाउन बिश्वासको मत मात्र दिएको बताउनुभयो । उहाँले सरकारमा सहभागी नहुने प्रतिपक्षमा नै बस्ने बताउनुभयो।