- मिश्रा देवी कार्की
विवाह एक संस्कार हो। मेरो जीवनमा पनि उमेर पुगे पछी अरुको जस्तै संस्कार सम्पन्न ,विवाह भएको थियो। बुबा आमाको निर्णय अनुसार नै मेरो विवाह भएको हो। त्यही क्रममा मेरो विवाह प्रहरी संग भयो। सायद भगवानको आदेशमा यही मंजुर थियो होला। त्यसमा म खुसी नै थिएँ ।
प्रहरीको पत्नी भएर हामीले सन्तानहरु संसारमा ल्यायौँ । हामीले छोराछोरीको बारेमा सामुहिक सपना देख्यौं। यसो गरौंला, उसो गरौंला भनि दुवै जना संगै बसी योजनाहरु पनि बनाएर एक आपसमा खुशी बाँडदै थियौँ। तर हामीले बनाएका योजना र देखेका सपनाहरुलाई पुरा गर्न पाएनौ। मेरो जीवनको खम्बा श्रीमानको माओवादीले कायरतापुर्ण तरीकाले हत्या गरी दियो। त्यस पछी अबोध दुई सन्तानको, आमा र बाबु दुबै म आफैं बन्न विवस भएँ। केबल ऑसु बगाएर, रोएर मात्र जीवन चल्ने अवस्था थिएन तर पनि २१ बर्षको उमेरमा पती गुमाउँदा म र म जस्तै हजारौं कलिलो उमेरका दिदीवहिनीहरूलाई आँखाबाट बगेको आँसु रोक्न भने त्यति सजिलो थिएन। त्यो समय हाम्रा लागि अति कठिन थीयो।
सशस्त्र द्वन्द्व रोकिएन, लडाइँ जारी थियो । बाँच्ने प्रहरीहरुका परिवारहरू त संगै थिए। जस्लाई हाम्रा दु:ख सुनी रहन र हेरी रहन फुर्सद पनि थिएन । किन की त्यसको लागि प्रहरी नेतृत्वको दृष्टि पुगेको थिएन। खाली वर्षमा एक पटक तक्मा भीरेर उर्दीको बाध्यताले ,सहानुभुती देखाउनलाई प्रहरी दिवसको दिन खोज्यो ।
हाम्रा श्रीमान राज्यका लागी लडेका थिए र वहाँहरू सहीद हुन् भन्ने प्रमाणीत गर्न र गराउन पनि हामी आफैं सडकमा पुग्नु पर्यो र तिनै प्रहरीको लाठी खानु पर्यो। सडकमा हामी जस्ता सबै दिदीवहिनीहरू देशभरबाट संगठित भयौ । जहाँ प्रहरी, सेना र सशस्त्र प्रहरीका सबै दिदीवहिनीहरू र अशक्त दाजुभाइहरू एक ठाउमा आएर सरकारलाई पनि झुकाउनु पर्यो र सरकारलाई हाम्राे माग संबोधन गराउन बाध्य पारेर उद्देश्यलाई सार्थक बनाउन सफल भयौं।
कहाली लाग्दो समयमा आफ्नो जीवन चलाउनु, छोरा गुमाएका सास सासुलाइ म छु भन्दै स्याहार्नु, बालबच्चा पढाउनु र पतीको सम्मानका लागि सडकमा लड्नु सबै काम उत्तिकै महत्वपुर्ण र कठीन थीए जॉहा बाँचेका प्रहरीहरुको बलियो र भरपर्दो साथ थीएन। हिजो आफ्नो नेतृत्वमा रहंदा डियुटी दिएर दुर्गम र विकट जिल्लामा जान बाध्य पार्ने धेरै सुरक्षा संगठनका अधिकृतको साथ हुन पर्थ्यो तर त्यसो चाहिँ भएन। संगठन र सरकारसंग लड्दा लड्दै बज्र झैं भएको हाम्रो जीवन र आत्मा बीश्वास अग्राठको काठ झैं बलियो बनाई झरी बादल खाएर झन मजबुत हुदै गयो।
ति कठिन परिस्थितिबाट गुज्रेर बर्षौ सम्म एक्लै एक्लै संघर्ष गर्दै आएका हामीहरूलाई कतिपय बॉचेका प्रहरीहरूले कागजात बनाउन संगठनको प्रधान कार्यालय जाँदा अपशब्द प्रयोग गर्थे। त्यस्ता मानवीयता गुमाएर ड्युटीमा बसेका प्रहरीहरूसँग सिधै प्रतिकार गर्यौ। त्यो बेला देखि अहिले सम्म हामीहरू आई रहंदा त्यो बेलामा बाँच्ने प्रहरी र पूर्व प्रहरी महानुभाबहरुले “ दयाको पात्र ,कमजोड नारी वा अबला नारी ठानेर हेपेर नै बोली रहँदा लाग्दछ" , त्यो बेलामा वहाँहरूलाई पनि मारेको भए त वहाँहरूको श्रीमतीहरूले पनि हामीले जस्तै अप शब्द सुन्न र व्यवहार त झेल्नु पर्थ्यो। यस्तो व्यवहार जुन म जस्ता कयौं साथीहरूलाई बिल्कुल पच्ने र राम्रो लाग्ने कुरा चाहिँ हुन सक्तैन।
हाम्रो जीवनको संघर्षमा साथ दिने र सरकार संग लडेर आफ्नो हक अधिकार र पहिचान स्थापित गराउन बाटो देखाउने स्व. डी.बी लामा सर! जस्लाइ हामी सहीद परीबारहरूले बुबा मान्छौ, वहाँले भने हाम्रो सम्मान पाउनु भएको छ । वहाँ आज हामी बीच नभए पनि सदा मन मष्तिष्कमा बस्नु भएको छ। वहाँको आशीर्वादले हामीलाई कसैसंग निर्जीव मान्छे भएर बाँच्न दिएको छैन । बुबा संगै दुई आमाहरूको माया निरन्तर आजको दिन सम्म उक्तिकै छ। हाम्रो लागि महान परिवार भनेको नै स्व. डि बी लामा बुबाको परिवार भन्दा बाहेक अरू कोही देखिएनन्।
पछिल्लो समयमा थोरै संख्यामा केही बहालमा रहनु भएका प्रहरीहरूले सल्लाह सुझाव दिनुभयो। सहीद घोषणा गराउन हामी रोडमा लडी रहंदा सरकारसंग डिफेनस गर्ने साहस सर्वेनद्र खनाल सरबाट भएको थियो। प्रहरी संगठनको नेतृत्वमा हामी सहीद प्रहरी परिवारले सर्वेनद्र खनाल सरलाई सदा सम्मान गर्छौं ।स्व डि बी लामा बुबा दुई आमाहरू, सर्वेनद्र खनाल सर र केही पूर्व प्रहरी, नीजामती कर्मचारी , राजनीति दलका नेता र सामाजीक क्षत्रका शुभचीन्तकहरु हुनुहुन्छ। जस्ले हाम्रो हक र आत्मा सम्मान बडाउन साथ दिनु भएको छ । जस प्रती हामी आभारी छौं।
अहिले पनि हामी विगत एक महिनादेखि दौडधूप गर्दै गर्दा वेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन संशोधन गरी संसदमा पेश गरेको जुन सरकारले ल्याएको विधेयक छ। त्यस विधेयकले हाम्रा श्रीमानहरूले हतियार बोकेर डियुटीमा भएकै कारण सशस्त्र हतियार धारी समूह र "पिडक" भन्ने शब्दले अपराधी करार गरेको हुँदा असैया पिडा भएर यही मिति २०७९ /०४/१३ गते देखि निरन्तर धर्नामा बसेका छौं। यसमा बहाल र पूर्व प्रहरी अधिकृतहरूले सहयोग गर्नुपर्ने समय आएको छ। राज्यको हतियार हो। त्यो थ्री नट थ्री राइफल नि :हथया मारिएका हाम्रा श्रीमानहरूको व्यक्तिगत होइन। राजनीति इच्छा शक्तिलाई सन्तुलन गर्ने र पिडीतहरूलाई घुमाउरो पारामा झुकयाएर द्वन्द्व व्यवस्थापन गर्ने पाटोमा सरकार लागि रहंदा यसको प्रत्यक्ष असर सुरक्षाकर्मीहरूलाई भएको छ।
हाम्रो जीवन पनि पतीहरू झैं एक योद्धाको रुपमा छ, फरक यत्ति हो, वहाँहरू देशका लागि आतकंकारी संग लड्नु भयो । हामीहरू पारिवारिक दायित्व र पतीको कामको कदर गराउनका लागि लड्यौं र अझै लडिरहेका छौं । त्यसैले पनि हामी निरयही, कमजोड र दयाका पात्र छैनौ र होइनौ। हामी सम्मानित सहीद परीबार हौं । यस्लाई वहाल संगठन, पूर्व संगठन र सिंगो देशको चिन्ता बोकेर खडा भएको पूर्व सुरक्षाकर्मी परिषद संस्था जस्ता सबैले बुझ्नुपर्छ र सम्मान पनि गरीदीनु पर्दछ ।
लेखक कार्की सहीद प्रहरी परिवारकी सदस्य हुन्।




