महोत्तरी – प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, पत्रकारका मागहरूको सम्बोधन तथा नागरिकको सूचना प्राप्तिको अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले बुधबार जिल्ला प्रशासन कार्यालय महोत्तरी अगाडि विरोध धर्ना दिएको छ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यक्रमअन्तर्गत आयोजित धर्नामा सहभागी पत्रकारहरूले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा गर्न, सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी एवं स्वेच्छाचारी निर्णय खारेज गर्न तथा सञ्चारमाध्यममैत्री वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन्।




धर्नाका क्रममा सहभागीहरूले “मिडिया विरोधी सरकारी नीति खारेज गर”, “प्रेस स्वतन्त्रता जिन्दावाद”, “नेपाल पत्रकार महासंघका माग तत्काल सम्बोधन गर”, “निर्वाध सूचना प्राप्तिको अधिकार सुनिश्चित गर” तथा “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी संवैधानिक हकको रक्षा गर” लगायतका नारा लगाएका थिए।
धर्ना कार्यक्रममा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दास, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतो लगायत जिल्लाका विभिन्न सञ्चारमाध्यमका सञ्चालक, सम्पादक, पत्रकार तथा सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघ महोत्तरी शाखाका अध्यक्ष महेश कुमार दासले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक शासन व्यवस्थाको आधारभूत स्तम्भ भएको उल्लेख गर्दै संविधानले प्रत्याभूत गरेका अधिकारको संरक्षणमा कुनै पनि किसिमको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभयो। उहाँले सूचना र विज्ञापनसम्बन्धी विभेदकारी तथा स्वेच्छाचारी निर्णयले स्वतन्त्र पत्रकारिता र आमनागरिकको सूचनाको हकमाथि प्रतिकूल प्रभाव पार्ने भएकाले यस्ता निर्णय तत्काल खारेज गर्न सरकारसँग आग्रह गर्नुभयो।

त्यसैगरी, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोले स्वतन्त्र प्रेस लोकतन्त्रको महत्वपूर्ण आधार भएको बताउँदै पत्रकारिता क्षेत्रलाई कमजोर बनाउने कुनै पनि नीति तथा निर्णयले नागरिकको सूचनाको अधिकारलाई समेत प्रभावित पार्ने धारणा व्यक्त गर्नुभयो। उहाँले पत्रकारहरूको पेशागत सुरक्षा, स्वतन्त्र रूपमा समाचार सम्प्रेषण गर्न पाउने वातावरण तथा सूचनामा सहज पहुँचको सुनिश्चितता गर्न राज्य गम्भीर हुनुपर्ने बताउनुभयो।

महासंघले उठाएका मागहरू समयमै सम्बोधन गर्न सम्बन्धित निकायसँग उहाँले आग्रह गर्नुभयो। नेपाल पत्रकार महासंघ महोत्तरी शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिकको सूचनाको हक नेपालको संविधानद्वारा सुनिश्चित मौलिक अधिकार भएकाले ती अधिकारको संरक्षण गर्न तथा सञ्चार क्षेत्रलाई असर पार्ने विभेदकारी र स्वेच्छाचारी निर्णयहरू तत्काल फिर्ता लिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
महासंघले लोकतान्त्रिक मूल्य, मान्यता र नागरिकको सूचनाको अधिकारको रक्षा गर्दै स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिताको वातावरण निर्माणका लागि निरन्तर आवाज उठाइरहने जनाएको छ। धर्ना कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।





