महोत्तरी – भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धकजस्तै अवस्थामा रहेका १६ नेपाली कामदारको उद्धार गरी स्वदेश फर्काइएको छ। उनीहरू बुधबार अपराह्न महोत्तरीको मलिवाडा–भिठामोड सीमानाका हुँदै नेपाल प्रवेश गरेका छन्। सीमानाकामा महोत्तरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव, सुरक्षा निकायका प्रमुख तथा आफन्त नेपालका प्रतिनिधिले उनीहरूको स्वागत गरेका थिए। उद्धार गरिएका कामदारहरू मंगलबार नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेका थिए।
आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि उनीहरूलाई दिल्लीबाट नेपाल पठाइएको हो। उनीहरू महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित मुसहर बस्तीका बासिन्दा हुन्। रोजगारीको आशामा हरियाणा पुगेका उनीहरूले भनेअनुसारको काम नपाएको, पारिश्रमिक रोकिएको र कुटपिटसमेत सहनुपरेको भन्दै परिवारलाई जानकारी गराएका थिए। बर्दिबास इलाका प्रहरी कार्यालयबाट प्राप्त सूचनाका आधारमा नेपाली दूतावास, नयाँ दिल्लीको समन्वयमा हरियाणा प्रहरीको क्राइम ब्रान्चअन्तर्गत मानव तस्करीविरुद्धको इकाइ, भारत सरकारका सम्बन्धित निकाय तथा आफन्त इन्डिया फाउन्डेशनको संयुक्त पहलमा सोमबार उनीहरूको उद्धार गरिएको थियो।



उद्धार अभियानमा संलग्न आफन्त इन्डियाका उद्धार अधिकृत मानबहादुर श्रेष्ठले कामदारहरूको अवस्था दयनीय रहेको बताए। उनका अनुसार साहुसँग रहेको बक्यौता पारिश्रमिक तत्काल भुक्तानी गराएर उनीहरूलाई स्वदेश फर्काइएको हो। प्रमुख जिल्ला अधिकारी यादवले उद्धार कार्यमा संलग्न सबै निकायप्रति आभार व्यक्त गर्दै स्वदेश फर्किएका कामदारहरूको पुनःस्थापना र आवश्यक सहयोगका लागि स्थानीय तहसँग समन्वय गरिने बताए। उद्धार गरिएका सबैलाई बर्दिबास नगरपालिका–१४ का वडाध्यक्षको व्यवस्थापनमा भाडाको बसमार्फत घर पठाइएको छ।





