महेशकुमार दास,जलेश्वर। झण्डै अढाइ करोड मूल्य पर्ने जग्गा महोत्तरीका एक दानवीरले सशस्त्र प्रहरीलाई जग्गा दान गर्नुभएको छ । महोत्तरी भंगहा –४ घर भएका व्यावसायी तथा समाजसेवी दिनेशकुमार महतोले अढाइ करोड मूल्य पर्ने जग्गा सशस्त्र प्रहरी वेश क्याम्प नक्टाझिजलाई कार्यालय निर्माणका लागि दान दिनुभएको हो ।
ढल्केवर–महेन्द्रनगर–जनकपुर सडकखण्ड अन्तर्गत पर्ने धनुषाको मिथिला नगरपालिका –५ नक्टाझिजमा रहेको पाँच कठ्ठा क्षेत्रफल रहेको जग्गा महतोले सशस्त्र प्रहरीलाई कार्यालय निर्माणका लागि दान गर्नुभएको हो ।
शान्ति सुरक्षा, अमनचयनका लागि क्रियाशील सशस्त्र प्रहरी बल नेपालको नक्टाझिजस्थित सुरक्षा बेस क्याम्पको कार्यालय निर्माणका लागि व्यवसायी तथा समाजसेवी महतोले जग्गा दान गर्न पाउँदा खुशी महशुस भएको बताउनुभयो ।
‘हाम्रो समाजमा असुरक्षा बढदैगएको सर्वविदितै छ । त्यही भएर सुरक्षाको अभिभारा बोकेको सशस्त्र प्रहरीलाई कार्यालय निर्माणको जग्गा अभाव भइरहेको थाहा पाएपछि आफनो स्वामित्वमा रहेको जग्गा दान गरेको हुँ’ दानविर महतोले भन्नुभयो, ‘समाजलाई सुरक्षार्थ अहोरात्र खटिने प्रहरीको वास बस्ने ठाउँ भएमात्र सुरक्षा व्यवस्था भरपर्दो हुन्छ ।’
यसैबीच सशस्त्र प्रहरीको कार्यालय निर्माणका लागि जग्गा दाता समाजसेवी महतोलाई १६ औं शसस्त्र प्रहरीको वार्षिकोत्सव २०८० को अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक दिपेन्द्र साहले कदरपत्र प्रदान गरेर सम्मान समेत गर्नुभयो ।