महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका–१४ स्थित मुसहर बस्तीका बालबालिकासहित १६ जना नेपाली श्रमिक भारतमा बन्धक बनेको अवस्थाबाट उद्धार भएका छन्।
श्रमका लागि भारत पुगेका उनीहरूलाई उद्धार गरी नेपाल ल्याउने प्रक्रिया अघि बढाइएको छ।
आफन्त इण्डियाको सहकार्य, नयाँ दिल्लीस्थित नेपाली दूतावासको समन्वय तथा इलाका प्रहरी कार्यालय बर्दिबासको पहलमा उनीहरूको उद्धार सम्भव भएको हो। इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी गुरु प्रसाद तिमिल्सिनाका अनुसार श्रम शोषणमा परेका स्थानीयलाई सुरक्षित रूपमा नेपाल फर्काउने काम भइरहेको छ।



उद्धार टोलीमा सहभागी अशोक सदाका अनुसार भारतीय प्रहरीको सहयोगमा बन्धक अवस्थामा रहेका श्रमिकहरूको उद्धार गरिएको हो। उनले पीडितहरूले काम गरेबापत पाउनुपर्ने ज्याला पनि भारतीय प्रहरीले हिसाब गराएर दिलाएको जानकारी दिए।
पीडितहरूलाई डर–त्रास देखाउँदै बन्धक बनाइएको, कुटपिट तथा यातना दिइएको बताइएको छ। उनीहरूले आफूहरूमाथि भएको दुर्व्यवहारका फोटो र भिडियो परिवारजनलाई पठाएपछि घटनाबारे जानकारी बाहिर आएको थियो।
त्यसपछि आफन्तहरूले दोषीमाथि कानुनी कारबाही र पीडितहरूको उद्धारको माग गर्दै इलाका प्रहरी कार्यालय बर्दिबासमार्फत नयाँ दिल्लीस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए। वीरेन्द्र सदा, कारिचरण सदा, अशोक सदा, अमरलाल सदा र मनोहर सदाले आफ्ना छोरा–छोरी तथा श्रीमतीहरू बन्धक बनेको भन्दै खोजी तथा उद्धारका लागि आग्रह गरेका थिए।
प्रारम्भिक जानकारीअनुसार दिलिप परियारले २०२६ मार्च २७ मा भारतको हरियाणा राज्यको झज्जर जिल्लास्थित हेलन गाउँमा रहेको कुखुरा फर्ममा अण्डा टिप्ने काम रहेको र राम्रो आम्दानी हुने आश्वासन दिएर उनीहरूलाई भारत लगेको बताइएको छ।उद्धार गरिएका सबै नेपालीलाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल ल्याइँदै छ भने घटनामा संलग्न व्यक्तिमाथि थप अनुसन्धान र कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जनाइएको छ।






