
काठमाडौं - काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे नियमित काममा फर्किएका छन् ।
उच्च अदालत पाटनले बुधबार पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै उनी आज कार्यालय पुगेका हुन् ।
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गत जेठ २० गते पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।
पाण्डेले उच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतले मुद्दाको अन्तिम किनारा नलागेसम्मका लागि पाण्डेलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा काम गर्न दिन आदेश दिएको थियो ।