महोत्तरी । गौशाला नगरपालिका–५ मा गोरु तथा खसी बजारको ठेक्काको विषयलाई लिएर उत्पन्न विवादले झडप हुँदा चार जना घाइते भएका छन्।
झडपमा परेर वडा नं. २ का वडा अध्यक्ष श्याम कुमार मण्डल, स्थानीय विपिन साह, विजय यादव र सुरेन्द्र महतो घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएकोछ।
स्थानीयहरूका अनुसार गोरु तथा खसी बजारमा दुई पक्ष गौशाला नगरपालिका र निगौल गाई गौशाला दुबैले ठेक्का लगाएको कारण ठेक्का वापतको राजश्व संकलनको विषयमा विवाद उत्पन्न हुँदै आएको छ।




गौशाला नगरपालिका र निगौल गाई गौशालाबीच पशु बजार ठेक्का तथा राजश्व संकलन गर्ने विषयमा विवाद भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

निगौल गाई गौशालाले कर्मचारी खटाएर अमानतमा राजश्व संकलन प्रक्रिया अगाडि बढाउँदा नगर प्रहरीले अवरोध गरेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
निगौल गाई गौशालाको कार्यालय र गौशाला नगरपालिकाको कार्यालय बीच २०७० मा गोरु र खसी बजार ठेक्का बापतको २५ प्रतिशत रकम निगौल गाई गौशालालाई उपलब्ध गराउने सम्झौता भएको छ । सम्झौताअनुसार निगौल गाई गौशाला व्यवस्थापन कार्यालयले पटक–पटक लिखित तथा मौखिक रूपमा अनुरोध गरेको छ ।
तर, गौशाला नगरपालिका कार्यालयले ठेक्काबापतको ५ करोडभन्दा बढी बाँकी रहेको रकम दिन नमानेपछि पशु बजार ठेक्का आफैं लगाउने प्रक्रिया अगाडि बढाउँदा नगरपालिकाले अवरोध गरेको निगौल गाई गौशालाको कार्यालय प्रमुख वीरबहादुर चौधरीले बताउनुभयो ।
राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालन तथा व्यवस्थापनमा रहेको निगौल गाई गौशाला व्यवस्थापन कार्यालय गौशालाको नाममा रहेको महोत्तरी जिल्ला गौशाला नगरपालिका वार्ड नं. ५ कित्ता नं. ८२, ८३, ८४ को २ बिघा १९ कठ्ठा ११ धुर जग्गामा गौशाला नगरपालिकाको कार्यालयले गोरु तथा खसी बजार सञ्चालन गर्न ठेक्कामा लगाउने कार्य गर्दै आएको छ र पशुहाट लगाइने ठेक्काबाट २५ प्रतिशत रकम नगरपालिकाले गाई गौशालालाई दिने सहमति गरेको छ । तर नगरपालिकाले रकम दिन आनाकानी गर्दै आएको आरोप निगौल गाई गौशाला प्रशासनले लगाएको छ।
निगौल गाई गौशालाले नगरपालिकाले बाँकी रकम समेत उपलब्ध नगराई जर्वजस्ती वजार ठेक्का लगाएर राजश्व असुल्दै आएपछि राष्ट्रिय सहकारी नियमन प्राधिकरणको आदेशअनुसार सो बजारको रकम उठाउन खोजेपछि विवाद सिर्जना भएको बताइएको छ।
राष्ट्रिय सहकारी नियमन प्राधिकरण पुलचोकका प्रशासकीय अधिकृत कान्ती कुमारी पाण्डेले दिएको जानकारी अनुसार नगरपालिका उपर बाँकी रहेको ५ करोड बढि रकम असुल्नका लागि कार्यालयले बारम्बार तकेदा गर्दा समेत कुनै सुनवाई नगरेको आरोप लगाउनुभयो ।
पाण्डेले भन्नुभयो , ‘वि.सं. २०७० सालमा निगौल गाई गौशालाको अधिनमा रहेको जग्गामा ४ बर्षको लागि पशु वजार लगाउनका लागि सम्झौता भएको थियो । सो सम्झौतापत्रमा ठेक्का वापतको कुल रकमको २५ प्रतिशत रकम यस कार्यालयलाई दिने शर्तमा तत्कालिन गौशाला गाविसको कार्यालयसँग सम्झौता भई पशु वजार लगाउनका लागि सहमति भएको थियो । आर्थिक बर्ष २०७३ । ०७४ मा नै सम्झौता टुटेतापनि नगरपालिकाको कार्यालयले बर्षेनी बिना सम्झौता पशु वजार आफ्नो मातहतको जग्गामा लगाउँदै आएको थियो । यसविचमा सम्झौताका लागि गरेको अनेकन प्रयासहरु नगरपालिकाकोतर्फबाट विफल हुँदा वाध्यतावश यस कदम उठाउनका लागि यस संस्थाले सो निर्णय लिएको हो ।’
इप्रका गौशालाका अनुसार सोमबार विहान ठेक्का रकम सङ्कलनको प्रयासका क्रममा नगरपालिका पक्ष र गाई गौशाला पक्षधर बीच विवाद उत्पन्न भई हात हालाहाल भएको थियो ।
विवाद उग्र रुपमा परिणत भई दुई पक्ष बीच झडप नै हुन पुगेपछि स्थिती तनावपूर्ण बनेको थियो ।
स्थितीलाई नियन्त्रणमा लिनकाे लागि प्रहरी बल परिचालन गरि स्थितीलाई नियन्त्रणमा लिएको थियो। दुई पक्षबीच झडप भएपछि इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक विकास बमको कमाण्डमा र जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोर प्रसाद चौहानको कमाण्डमा खटिएका प्रहरीले झडप नियन्त्रणमा लिएको थियो ।अहिले बजार क्षेत्रमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति छ र अवस्था सामान्य रहेको छ।
यता घाइतेमध्ये वडा अध्यक्ष मण्डल र विजय यादव को अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौँ रेफर गरिएको इप्रका गौशालाले जनाएको छ।
यस विषयमा गौशाला नगपालिकाका नगर प्रमुख दिपेन्द्र महतोले स्थानीय बजारहरु स्थानीय सरकारको मातहतमा हुनु पर्ने कानुन रहेको हुँदा सोहि अनुसार गरिएको र त्यसमा विपक्षी दलहरुले गलत ढंगले गाई गौशालालाई उकसाएर यस्तो झडपको स्थिती पैदा गराएको बताउनुभयाे। उहाँले यस विषयमा सर्व पक्षिय बैठक गरेर समस्याको समाधान गर्ने बताउनुभयो ।




