शर्मिला घिमिरे
महोत्तरी । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कृषि र सामाजिक रूपान्तरणमा नयाँ ढङ्गले अगाडि बढ्नु नै काशी महतो (करण) प्रतिको वास्तविक श्रद्धाञ्जली हुने बताएका छन् । काशी महताेले कृषिबाट नै परिवर्तन गर्न सकिन्छ भन्ने जोशका साथ जुन अभियान चलाउनुभएको थियो त्यो अनुकरणीय रहेको प्रचण्डले बताए । अल्पायुमै उहाँलाई गुमाउनु पर्दा सबैलाई दुःख लागेको बताउँदै प्रचण्डले सम्पूर्ण परिवारमा समवेदना व्यक्त गरे।
बुधबार महोत्तरीको गौशाला नगर कमिटीद्वारा गौशालामा आयोजित स्व. नेता काशी महतो (करण) को श्रद्धाञ्जली सभामा बोल्दै प्रचण्डले ले मृत्यु आफ्नो बसमा नभएको यसलाई ढिलो चाँडो यसलाई सबैले स्वीकार्नु पर्ने बताए।
प्रचण्डले आफ्नै परिवार भित्र पनि आफूले ठूलो बज्रपास सहनुपरेको कुरा सम्झाउँदै स्व काशी महतोको सोच र चिन्तन सधैँ सकारात्मक र ऊर्जाशील रहेको बताए।
उनले स्वार्थभन्दा माथि उठेर सधैँ पार्टी देश र जनताको पक्षमा उभिएका यस्ता योद्धा सधैं इतिहासमा सम्झन योग्य भएको भन्दै देशमा रहेको अन्योलताको अन्त्य गर्न पनि निर्वाचन हुन आवश्यक रहेको बताए । निर्वाचन हुने कुरामा कोही कसैले सन्देह लिन नपर्ने र यदि कुनै कारण बस निर्वाचन हुन सकेन भने पनि राष्ट्रिय सहमति मार्फत अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
प्रचण्डले तराई मधेस उर्वर भूमि भएको बताउँदै उनले यसलाई अन्न भण्डार कै रूपमा विकास गर्नुपर्ने बताए ।
चुरे दोहनको कारण मरुभूमिकरणको समस्या बढ्दै गएको चिन्ता व्यक्त गर्दै प्रचण्डले समस्यालाई यथासक्य चाँडै समाधान गर्नुपर्ने बताए। उनले सिँचाइको अभावका कारण किसानहरूले झेल्नु परेको समस्या ,खानेपानीको उचित व्यवस्थापन हुन नसक्दा स्थानीयले भोग्नु परेको शास्तीलाई मध्यनजर गर्दै सुनकोशी मरिण डाइभर्सनको काम लाई छिटोभन्दा छिटो सम्पन्न गर्ने र सिँचाइको व्यवस्था गर्ने उनले बताए।
प्रचण्डले युवाहरूको मागलाई सम्बोधन गर्नु सबैको कर्तव्य भएकोले यसका लागि आफू र आफ्नो पार्टी सधैँ तत्पर रहेको बताए।

कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका सह संयोजक माधवकुमार नेपालले राम्रो काम गर्ने मान्छेको कहिल्यै मृत्यु नहुने बताए।उनले काशी महतो (करण )सबैका प्रेरणाका स्रोत रहेको बताउँदै उनले भने, 'प्रेरणाका स्रोतलाई इतिहासमा सधैं जीवित राख्न सक्नुपर्छ। स्मारिका ,लेख ,रचना मार्फत उहाँले दिएका योगदानलाई लिपिबद्ध गर्न आवश्यक छ।' उनले जनकपुरको सन्देश सभा कार्यक्रममा काशी महत्त्वको योगदान अविस्मरणीय रहेको बताए ।
नेता नेपालले न्याय ,समानता र समाजवादका लागि नेपाली कम्युनिष्ट पार्टी नै एक हो भन्ने बुझ्न हरेक जनजनले आवश्यक रहेको बताउँदै उनले एक असल योद्धालाई अल्पायुमै गुमाउनु पर्दा स्तब्ध रहेको बताउँदै परिवारमा समवेदना समेत व्यक्त गरे।
उक्त कार्यक्रममा महेन्द्र राय यादव ,गिरिराज मणि पोखरेल लगायत शीर्षस्थ नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता नेपाली कम्युनिस्ट पार्टीका चित्र जर्गाले गरेका थिए ।




