महोत्तरी – परम्परागत सञ्चारमाध्यमका रूपमा परिचित हुलाक सेवाको प्रभावकारिता तथा सेवाग्राहीमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाउने उद्देश्यले जिल्ला हुलाक कार्यालय महोत्तरीले क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
जलेश्वरस्थित जिल्ला हुलाक कार्यालयको सभा हलमा सोमबार सम्पन्न कार्यक्रममा कार्यालयका कर्मचारी तथा सञ्चारकर्मीबीच हुलाक सेवाको वर्तमान अवस्था, सामना गर्नुपरेका चुनौती तथा सुधारका सम्भावनाबारे विस्तृत छलफल गरिएको थियो। कार्यालय प्रमुख रामचन्द्र साहको अध्यक्षतामा आयोजित कार्यक्रममा सेवा प्रवाहको गुणस्तर अभिवृद्धि, कार्यसम्पादनमा प्रभावकारिता तथा नागरिकको विश्वासलाई अझ सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो।



कार्यक्रममा सहजीकरण गर्दै प्रशिक्षक राकेश चौधरीले सूचना तथा प्रविधिको तीव्र विकाससँगै सेवा प्रणालीमा आएको परिवर्तनअनुरूप हुलाक सेवाले पनि आफूलाई समयसापेक्ष ढङ्गले रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले सेवाग्राहीको अपेक्षा, संस्थागत उत्तरदायित्व तथा पारदर्शितालाई केन्द्रमा राखेर सेवा प्रवाह गरिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा कर्मचारीहरूले हुलाक सेवालाई अझ प्रभावकारी, विश्वसनीय र सर्वसुलभ बनाउन सूचना प्रवाहलाई व्यापक बनाउनुका साथै जनचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए। सेवा प्रवाहमा आधुनिक प्रविधिको उपयोग, कर्मचारीको क्षमता अभिवृद्धि तथा नागरिकसँगको समन्वयलाई सुदृढ बनाउन सके हुलाक सेवाप्रति जनविश्वास थप बढ्ने सहभागीहरूको धारणा थियो।
कार्यक्रममा हुलाक सेवाको परम्परागत महत्त्वलाई कायम राख्दै आधुनिक आवश्यकताअनुसार सेवा विस्तार र सुधारका प्रयासलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।





