काठमाडौं – देवराज घिमिरे प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित भएका छन् ।
नेकपा (एमाले) का सांसद घिमिरे नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै सभामुख पदमा निर्वाचित भएका हुन् ।



पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले ‘देवराज घिमिरेलाई प्रतिनिधि सभाको सभामुख पदमा निर्वाचित गरियोस्’ भनी राखेको प्रस्तावको पक्षमा १६७ मत खस्यो भने विपक्षमा १०० जना सांसद उभिए ।
यस्तै कसैलाई पनि समर्थन नगरीकन तटस्थ बस्ने सांसदको सङ्ख्या १ छ । सभामुख पदमा निर्वाचित हुनका लागि सामान्य बहुमत अर्थात् २७५ सदस्यीय प्रतिनिधि सभाका १३८ सांसदको समर्थन चाहिन्छ ।
सभामुख चयनको प्रयोजनसहित बसेको आजको बैठकमा २६८ जना सांसदहरू उपस्थित भएका थिए ।
को हुन् सभामुख देवराज ?
देवराज घिमिरे झापा २ बाट निर्वाचित सांसद हुन् । उनी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई २ हजार २ सय ६१ मतले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
२०१३ जेठ १३ मा ताप्लेजुङ सिकैचा ३ मा जन्मिएका घिमिरेले स्नातक अध्ययन गरेका छन् । २०५६ सालमा राष्ट्रिय सभा सदस्यसमेत भइसकेका उनको राजनीतिक जीवन २०३१ सालको झापा विद्रोहपछि सुरू भएको हो ।
एमालेका स्यायी समिति सदस्यसमेत रहेका उनी सुखानी शहीद स्मृति प्रतिष्ठानका अध्यक्षसमेत हुन् । २०७५ मा नेकपाको प्रदेश १ को अध्यक्ष, ०७८ मा भएको एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट उनी स्थायी समिति सदस्य भएका थिए ।
उनी अहिले पनि एमाले प्रदेश १ का इन्चार्ज हुन् ।
सभाको प्रतिनिधित्व ठीक ढंगबाट गर्ने
नवनिर्वाचित सभामुख देवराज घिमिरेले आफूले सभाको प्रतिनिधित्व ठीक ढंगबाट गर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकबाट सभामुखमा निर्वाचित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
सभामुखमा रहँदा निष्पक्ष र तटस्थ भमिकामा आफू कार्यसम्पादनमा लाग्ने बताउँदै सभामुख घिमिरेले विगतबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।
उनले भने, ‘म निष्पक्षताका साथ सभा सञ्चालनमा लाग्नेछु । प्रतिनिधि सभाको प्रतिनिधित्व ठीक ढंगले गर्नेछु । विगतका सभामुखहरूको कामबाट शिक्षा लिँदै संसदलाई चुस्त बनाउन लाग्नेछु ।’




