
पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डको विषयमा राजनीतिक जालझेल गरी आफू र आफ्नो परिवारका बारेमा नकारात्मक भ्रम फैलाइएको गुनासो गरेका छन् । शनिवार वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो गुनासो गरेका हुन् ।
सो अवसरमा पूर्वराजा शाहले २०५८ जेठ १९ को विनाशकारी कहालीलाग्दो घटनालाई लिएर अहिलेसम्म पनि परिवारमाथि घातक प्रहार हुने गरेको बताए । दरबार हत्याकाण्डका प्रत्यक्षदर्शीहरू जीवित हुँदाहुँदै पनि अज्ञानता र छलका कारण अझै पनि कतिपय बहकिने गरेकोप्रति उनले चित्त दुखाए । ‘२०५८ जेठ १९ गते घटेको विनाशकारी घटना जुन हामी र हाम्रो परिवारलाई कहाली लाग्दो र सम्झन मन नपराउने अवस्थालाई राजनीतिक जालझेल गरी धेरै नेपालीको मनमा भ्रमको बादल बनाइ नकारात्मक भावना फैलाएका थियो । हामी र हाम्रो परिवारलाई घातक प्रहारहरू पनि गरेका थिए,’ उनले भने, ‘तर सत्य सधैँ सत्य हुन्छ । असत्यको विजयी कहिले हुँदैन ।
हाम्रो माझ प्रत्यक्षदर्शीहरू हुँदाहुँदै अज्ञानता र छलले अझ पनि हामी बहकिरहेका छौँ । यो अन्यायपूर्ण मात्र होइन दुर्भाग्यपूर्ण पनि हो ।’ पूर्वराजा शाहले आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्रप्रमुखको हैसियतमा आफूले आफ्नो दायित्व निर्वाह गरेको स्मरण गरे । ‘आफ्ना आत्मीय अग्रजहरूलाई गुमाएको पीडादायक अवस्थामा नेपालको राज्यभार ग्रहण गरेर पुग नपुग सात वर्ष राष्ट्रप्रमुखको हैसियतमा मैले आफ्नो दायित्व निर्वाह गरेँ,’ उनले थपे, ‘तत्कालीन अप्ठेरो परिस्थितिमा पनि देशको थप बर्बादी नहोस् र हाम्रा प्रजातन्त्रका मान्यता राखेर नै मैले काम गरेको हुँ ।
’ पूर्वराजा शाहले देशलाई झन्–झन् बर्बादीको बाटोमा लान नहुने भन्दै अब सोच्ने बेला आएको पनि बताए । ‘दुःखका साथ भन्नुपर्छ । हिमाल, पहाड र तराई, सबै उजाड बन्दै खोक्रो भएर चरम दुर्भाग्यतिर खस्किएको छ । यो अवस्थाको अन्त्य गर्नैपर्छ । यसका निम्ति अब सोच्ने बेला आयो’, उनले भने, ‘देशलाई झन्–झन् बर्बादीतिर नलैजाऊँ, अब सबैले सोचौं, समीक्षा गरौं ।’ प्राकृतिक, स्रोत साधन र क्षमता, सबै कुरा आर्थिक उन्नतीमा लगाउनुपर्ने उनको भनाइ थियो । ‘घर उजाड पारेर अरुको उन्नतिमा श्रम लगाउने बेला अब गयो ।
आफ्नै गाउँ बस्ती बनाउनतिर अब हामी लाग्नैपर्छ । यसैमा देशको प्रगति, उन्नति र प्रतिष्ठा निर्भर हुन्छ’, उनले भने, ‘अब भूगोल र भू–बनोटमा बाँडिने होइन । जातजाति, धर्म र संस्कृतिमा खण्डित हुने होइन । नेपालमा बस्ने हामी सबै नेपाली हाैँ । त्यसैले विभेदको, विखण्डनको, विग्रहको, र निषेधको राजनीति नगरौँ । हामी सबैको भलाइ यसैमा छ ।
’ पूर्वराजा शाहले २०५८ जेठ १९ को शाही सन्देश यता सम्भवतः पहिलो पटक दरबार हत्याकाण्डबारे सार्वजनिक रुपमा आफ्नो धारणा राखेका हुन् ।