
काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीले आफूलाई नटेरेर भन्दा पनि फरार सांसदलाई पक्रदैँ छौँ भनेर जानकारीका लागि विज्ञप्ति निकालेको प्रष्ट पारेका छन्।
शनिबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीले विज्ञप्ति नै निकाल्नुपर्ने आवश्यकता किन पर्यो भनेर राखेको जिज्ञासामा मन्त्री लामिछानेले एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्ने प्रक्रिया चल्दै छ भनेर जानकारी दिन विज्ञप्ति निकालेको बताएका हुन्।
शनिबारकै संसद बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्यारा करार गरिएका एमाले सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न नसकेको भन्दै आपत्ति जनाएका छन्।
संसदमा आफूसँगै उपस्थित एमाले सांसद महतोलाई पक्राउ गर्नुको साटो गृहमन्त्री लामिछानेले विज्ञप्ति निकाल्न लगाएर केटाकेटीपन प्रर्दशन गरेको भन्दै आक्रोशसमेत व्यक्त गरेका थिए।
संसद बैठकपछि गृहमन्त्री लामिछानले कोइरीलाई पक्रने प्रक्रिया सुरु गर्न लागिएको र नतिजा विस्तारै देखिदै जाने उल्लेख गरे।
कोइरीका सन्दर्भका निकालिएको विज्ञप्तीलाई सबैले आ–आफ्नो ढंगले व्याख्या गरिरहेको र व्याख्या आफ्नो नियन्त्रणबाहिर रहेको उनको भनाइ छ। चार–चार जना उपप्रधानमन्त्री किन आवश्यक पर्यो भन्ने सञ्चारकर्मीको प्रश्नमा उपप्रधानमन्त्रीले राज्यलाई खास भार नपारेको र यदि पारेको भए हटाइदिँदा आफूलाई आपत्ति नहुने जवाफ दिए।