जनकपुरधाम – धनुषाका दुई युवकलाई अपहरण गरी भारतमा लगेर हत्या गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका- ८ का १९ वर्षीय रोहितकुमार साह र वडा नम्बर १३ पिडारीको पछियारी टोलका २२ वर्षीय विष्णु साहको भारतको बिहारमा अपहरणपछि हत्या भएको हो ।



दुबैजनाको भारतमा हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
अनुसन्धानका लागि भारत पुग्नु भएको धनुषाका प्रहरी नायब उपरीक्षक दिपक रायले दुवै युवकको शव खाल्टो खनेर गाडेको अवस्थामा सीतामढी जिल्लाको बेला थाना अन्तर्गतको पर्सा गाउँमा आइतबार बिहान फेला परेको जानकारी दिए।
दुवै शव पोस्टमार्टम गरेर आज बेलुका परिवारको जिम्मा लगाउने तयारी छ । रोहित र विष्णु छिमेकी र मिल्ने साथी थिए । पुस २७ गते दुवै जना रोहितको मामाघर भारतको परिहार जान घरबाट निस्केका थिए ।
तर बिच बाटोबाटै उनीहरु अपहरणमा परेका थिए । दुवैलाई भारततर्फ छिरेपछि अपहरण गरिएको परिवारले अनुमान गरेको छ। उनीहरुको शव हेर्दा केही दिन अघि नै हत्या गरिएको जस्तो देखिएको प्रहरीले जनाएको छ ।
अपहरणकारीले परिवारका सदस्यलाई फोन गरेर सुरुमा ५० लाख फिरौती मागेका थिए । मोलतोल पछि २० लाख फिरौती लिएर दुवै जनालाई मुक्त गर्ने सहमति भएको परिवारजनले जनाएको छ । अपहरणकारीले विष्णुका बुबालाई कहिले कहाँ कहिले कहाँ बोलाउने तर आफूहरु नआउने गरेर दुखः दिइरहेका थिए ।
तर, गत मंगलबारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोड्यो । पटक-पटक भनेको ठाउँमा रकम बोकेर जाँदा पनि अपहरणकारी नआएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । त्यसपछि प्रहरी भारतमै पुगेर दुवैलाई मृत अवस्थामा फेला पारेको हो ।
आइतबार बिहान दुईवटा शव फेला पारेपछि बिहान मृतक युवकहरुको आफन्तहरुलाई भारतीय प्रहरीले बोलाएको थियो । उनीहरुको शव भारतको बेला परिहार स्थित प्रहरी कार्यालयमा राखिएको छ ।
‘अपहरणको जानकारी पश्चात भारतीय प्रहरीसँग समन्वय गरेर खोजतलासमा सक्रियपूर्वक लागेका थियौं । अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले मात्र सुनेर हामीलाई समयमा जानकारी दिएनन् । त्यसकारण दुर्भाग्यवश हामीले बचाउन सकेनौं’, धनुषाका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले भने ।
घटनाको अनुसन्धानका लागि नेपाल प्रहरीले भारतीय प्रहरीको सहयोग लिएको थियो । संयुक्त प्रहरी टोलीले उनीहरुलाई राखिएको हुन सक्ने सम्भावित स्थानमा छापा मारेका थिए । घटनाको अनुसन्धानका क्रममा नेपालका दुई तथा भारतका तीन गरी पाँचजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको नाम अहिले गोप्य राखिएको छ । चारजना फरार रहेकाले खोजबिन भइरहेको प्रहरीले जनाएको छ ।
फिरौतीका लागि गरेको टेलिफोन नम्बरका आधारमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
‘को को घटनामा संलग्न छन् भन्ने डिटेल खुलिसकेको छ । पाँचजना पक्राउ परिसकेका छन्, चारजना फरार छन् ।उनिहरुको खोजतलास जारी रहेको छ’ एसपी खड्काले बताए।
अपहरणमा परि हत्या भएका विष्णुको परिवारमा बाजे रामकिशोर, बुबा रामबाबु, आमा, श्रीमती तथा ३ वर्षीया एक छोरी छन् भने रोहित अविवाहित हुन् ।




