
महात्तरी(औरही ) - मधेस प्रदेशका विद्यार्थी र विद्यालयमा अनिवार्य रुपमा मनाइने सरस्वती पूजा नजिकिंदै गएको छ । वसन्त पञ्चमीको दिन विद्यार्थीहरुले मनाउने सरस्वती पूजालाई मध्यनजर गर्दै यति बेला मधेस प्रदेशका मुर्ति बनाउने कालिगढहरु सरस्वतीमाताको प्रतिमा बनाउन व्यस्त देखिन्छन् । विगत ६ दशकदेखि प्रतिमा बनाउने काम गर्दै आएका महोतरीको औरही नगरपालिकाका २ फुलवरियाका ६० वर्षीय मूर्तिकार दिनेश रामका अनुसार बिगतको वर्षमा कोरोना संक्रमण र लकडाउनका कारण आम्दानी भएन अहिले आएर शितलहरले लामाे समय देखि घाम नलागेको कारण मूर्तिको व्यवसायमा सोचे जस्तो आम्दानी नभएको बताए ।
देशमा तीन तहको सरकार भए पनि स्थानीय सीप र पेशालाई प्रबर्द्धन गर्ने राेजगारी संग जाेड्ने जस्तो कार्य नभएको हुँदा धेरै मुर्तिकारहरुले पुर्खौली पेशा छोडनु पर्ने अवस्था आएको छ। सिजन अनुसार घर मै मूर्ति बनाउँदै आएका मूर्तिकार रामले आफू किशोर उमेर देखि नै बुवासँगै सिकेर उनीसँगै मिलेर मूर्ति बनाउने काम गर्दै आएको र अहिले आफ्नो सारा परिवार नै पनि यसै पेशामा रमाइरहेकोले बिगतको वर्षमा कोरोनाको कारणबन्दाबन्दी र अहिले मौसमका कारण पेशा नै संकटमा पर्ने अवस्था सृजना भएको दुखेसो पोखे ।
अहिले साेचे जस्तो आम्दानी नभए पछि थुप्रै बेरोजगार भई विदेश पलायन भएको राम बताउंछन् ।उनले आफूले चाँहि जेनतेन यसै पेशाबाट परिवारको भरणपोषण गर्दै आएको बताए । विशेष गरी सरस्वती पूजा, दुर्गा पूजा, विश्वकर्मा पूजा र कृष्णाष्टमीको बेला मूर्तिहरुको माग बढी हुने गरेको छ । घाम लागेको भए पर्व तथा महोत्सवहरुको लागि सयौं मूर्तिहरुको माग आउँथ्यो ।
लागत खर्च कटाएर कमाई पनि राम्रै हुँदै आएको थियो तर अहिले भने बिक्रीको लागि तयार पारेर राखेको मूर्ति समेत बिक्न धौधौ पर्ने गरेको छ । ’ –अर्का मूर्तिकार कैलास रामले बताए । माटो, काठ तथा परालको प्रयोगबाट बनाइने मूर्ति राम्रोसँग घाम लागेको अवस्थामा पूर्ण रुपमा सुक्न र निर्माण सम्पन्न हुनका लागि ७ देखि १० दिनसम्म लाग्ने गर्दछ ।
मूर्तिको आकार प्रकार अनुसार एउटा मूर्ति न्यूनतम २५ सय देखि अधिकतम् १५ हजार रुपैया सम्ममा बिक्री हुने गरेको मूर्तिकारहरु बताउँछन् । समय परिस्थिति र मूर्ति बनाउने काम प्रति नयाँ पुस्ताको घट्दै गएको रुचिका कारण पुख्र्यौली पेशा लोप हुँदै गइरहेको अवस्थामा स्थानीय सरकारले उनीहरुको सीपको जगेर्ना एवं संरक्षण गर्नुपर्ने आवश्यक्ता देखिएको छ ।