
जनकपुरधाम- प्रहरीको लापरवाहीका कारण अपहरणमा परेका युवकको हत्या भएको भन्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ ।
सोमबार स्थानीयहरुले प्रहरीको लापरवाहीका कारण अपहरणमा परेका युवकको हत्या भएको भन्दै प्रहरीको विरोध गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।

जनकपुरधामका दुई युवकको अपहरणपश्चात् भारतमा हत्या गरिएपछि मृतकका परिवारजन आन्दोलित भएका हुन् ।
मृतकका परिवारजन र स्थानीयबासीले आइतबार जनकपुरधाम–९ पिडारी चोकमा प्रदर्शन गरि चक्काजाम गरेका हुन् । उनीहरुले प्रहरी प्रशासनको कमजोरी र लापरवाहीका कारण युवकद्वयको हत्या भएको भन्दै प्रदर्शन गरेका छन् ।

उनीहरुले जनकपुरधामका युवाद्वय विष्णु साह र रोहित साहको हत्या गरी फरार भएका हत्यारालाई अनुसन्धानको दायरामा ल्याई कडा कारवाही गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् । पीडित परिवारले अपहरणकारीको फोन आउँदा आफूहरुले उसको कल रेकर्ड तुरुन्त प्रहरीलाई पठाउने गरेपनि अहिले प्रहरीले झुठो बोलेर घटनालाई मोड्न थालेको आरोप लगाएका छन्।

प्रहरीले विष्णु र रोहितको अपहरणपश्चात् पनि खोजतलासमा कुनै सहयोग नगरेको परिवारजनको आरोप छ । परिवारजनको आग्रह अनुसार प्रहरीले घटनाको अनुसन्धान गरेको भए दुबैजनाको ज्यान जोगिने सम्भावना रहेको परिवारजनको भनाइ छ । उनीहरुले स्थानीय प्रशासनको लापरबाहीले हत्या भएको आरोप लगाउँदै गृहमन्त्री रवि लामिछानेको राजीनामाकोे समेत माग गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बस्ने जगदिश साहका २२ वर्षीय छोरा रोहित साह र वडा नम्बर–१३ बस्ने रामबाबु साहका २५ वर्षीय छोरा विष्णु साहको हत्या गरिएको अवस्थामा आइतबार बिहान भारतको बिहार राज्यको परिहारस्थित पर्सा गाउँको पश्चिमतर्फको चौरमा शव फेला परेको थियो ।
दुईसाता अघि दुबैजना भारतको सितामढी जिल्लाको बेला परिहार बस्ने आफ्ना आफन्तको घर गएका थिए । त्यहाँबाट गत पुस २७ गते एकाएक बेपत्ता भएका दुबैजनाको परिवारलाई अपरहरणकारीले गत सोमबारसम्म भारतीय नम्बरबाट फोन गरी ५० लाख रुपैयाँ फिरौती मागेको थियो । अपहरणकारीले विष्णुको आवाज रेर्कड गरेर उनका आफन्तलाई फोनबाट सुनाएका थिए ।
परिवारले अपहरणकारीलाई २० लाख दिन राजी भएका पनि थिए । अपहरणकारीले २० लाख रुपैयाँ लिएर सर्लाहीको मलंगवा नाका नजिक बोलाएपछि परिवारजनले प्रहरीलाई जानकारी गरायो । तर, गत मंगलवारदेखि अपहरणकारीको मोबाइलमा सम्पर्क हुन छोडेको थियो ।

यता, धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले अपहरणको जानकारी पश्चात भारतीय प्रहरीसँग समन्वय गरेर स्थानीय प्रशासन खोजतलासमा सक्रियपूर्वक लागेको जानकारी दिए । उनले अपहरणकारीले पठाएको रेकर्ड परिवारजनले प्रहरीलाई समयमा जानकारी नदिएको बताएका छन् ।
घटनापश्चात प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरेको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले नेपालबाट ४ र भारतबाट ५ गरी ९ जनालाई पक्राउ गरेको एसपी खड्काले जानकारी दिए । उनीहरुको नाम अहिले गोप्य राखिएको छ ।