
जनकपुरधाम- महोत्तरी १ बाट निर्वार्चित प्रतिनिधि सभा सांसद लक्ष्मी महतो असई थमन विक हत्या प्रकरणमा आफ्नो नाम मुछेर फसाएको बताएका छन् । मुद्दा झुटो रहेको र राज्यले जबर्जस्ती फसाउन खोजेको महतोको दाबी छ । उनले यो कदम फसाउने खालको र षड्यन्त्रकारी भएको समेत बताए । दश बर्षे जनयुद्धमा मारिएका ब्यक्तिहरुको न सरकारले चासो दिएको छ न त तिनका परिवारलाई राहात तथा मार्ने ब्यक्तिहरुलाई खोजेर कारवाहि गर्न सकेको छ । यस्तो अबस्थामा मधेसका एजेण्डा माथीको आन्दोलनमा असई थमन बिकको ज्यान जानुमा आफ्नो गल्ति नभएको महतो बताउँछन् । सरकारले जनयुद्धताका मारिएका ब्यक्तिहरुलाई मूल बिषय बनाउँदै औला उठाउने हो भने संकटकालमा गल्ति गर्ने सबैलाई खोजेर कारबाहि गर्नुपर्ने बताए । सरकारले आफुलाई सबैतहबाट गल्ति गरेकै पुष्टि गरेमा सजाय भोग्न तयार रहेको बताए ।
को हुन् लक्ष्मी महतो
लक्ष्मी महतो महोत्तरी क्षेत्र नम्बर–१ मा नेकपा एमालेबाट प्रतिनिधिसभामा निर्वाचित भएका सांसद हुन् । उनले नेकपा माओवादी केन्द्रका उम्मेदवार गिरिराजमणि पोखरेललाई हराएका थिए । महतोले सतारुढ पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका पोखरेललाई १ हजार ३० मतान्तरले पराजित गरे ।
बाल्यकालदेखि खरो रूपमा प्रस्तुत हुने महतो क्रान्तिकारी स्वभावका नेता हुन् । समाजसेवीको नामले समेत परिचित छन् उनी । ५८ वर्षीय लक्ष्मी तत्कालीन निगौल गाउँ विकास समिति गाविसका पूर्व अध्यक्ष समेत हुन् । लोकप्रियताको कारण नै उनी स्वतन्त्रबाट जितेका थिए । त्यसैले उनलाई धेरैले ग्रामीण भेगमा मुखियाजी भनेर चिनिन्छन् । सामान्य किसान परिवारमा जन्मेका उनी बुवा रामचन्द्र महतो र आमा निर्सी देवीका तीन छोरा मध्येका साइला हुन् । १० कक्षासम्म अध्ययन गरेका महतो खेतीपातीमै आमाबुबालाई सघाउँदै पछिल्लो समय व्यवसाय तिर लागे । १२ वर्षकै उमेरदेखि कुस्ती खेल्ने महतो आफूभन्दा १० गुणा बढी तागत भएका पहलवानलाई पनि हराउँथे ।
टिभी च्यानल हेरेर भारतीय स्वर्गीय क्रान्तिकारी नेता सुवासचन्द्र बोसको विचारबाट प्रभावित भएकै कारण ७ घण्टा साइकल चढेर भगत सिंह, सुकदेव सिंह, राजगुरु लगायतका क्रान्तिकारी नेताबारेमा बनेको फिल्म हेर्न भारतको सितामढी जान्थे ।
जनकपुरधामका मारवाडीबाट प्रभावित भएर उनी २०४९ सालमा आफ्नै गाउँ निगौलमा इट्टाभट्टा संचालन गरे । कक्षा १० मै पढ्दा नेपाल विद्यार्थी संघ नेविसंघमा आबद्ध भएका उनी विस्तारै राजनीतिमा पनि सक्रिय भए । २०४८ सालको प्रजातान्त्रिक आन्दोलनमा उनले सक्रिय भूमिका निर्वाह गरेका थिए । नेपाली कांग्रेसमा सक्रिय हुँदाहँुदै २०५४ सालको स्थानीय निर्वाचनमा पनि टिकट पाएनन् । समर्थकले उनैलाई चुनाव लड्न दबाब दिए । स्वतन्त्रबाट चुनाव लड्दा महतोले कांग्रेस, एमाले र राप्रपाका बलिया उम्मेदवारलाई हराए । बहुमत नहुँदा पनि गाविसमा उनले पाँच वर्षे कार्यकालमा ऐतिहासिक काम गरेका थिए ।
उनले गरिब विपन्न र समाजलाई परेको बेला आर्थिक सहयोग गर्नबाट कहिल्यै पछि परेनन् । झण्डै डेढ दर्जन सार्वजनिक दलान, मन्दिर, विद्यालय लगायतका भौतिक संरचना निर्माणमा आर्थिक सहयोग गरेको विवरण रहेको छ ।
महतोले २०७० सालको चुनावमा यहीँ क्षेत्रबाट आफ्नी श्रीमती रामकुमारी महतोलाई तत्कालीन सदभावना पार्टीबाट चुनाव लड्न सहयोग गरेका थिए । यद्यपी उनी पराजित भइन् । त्यतीबेला पराजित भएकी रामकुमारी २०७४ सालको स्थानीय निर्वाचनमा गौशाला नगरपालिकाको उममेयरमा लडिन् तर दोस्रो पटक पनि उनी झिनो मतले पराजय बेहोरिन् । गत स्थानीय तहको निर्वाचनमा भने उनका छोरा डा दिपेन्द्र महतो नगरपालिकाको मेयरमा विजयी भए । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकि आएपछि महतोको लोकप्रियताकै कारण नेकपा एमालेले उनलाई टिकट दिएको थियो । फल स्वरुप उनी बिजयी भए ।
कसरी भयो असई विकको हत्या ? र कसरी लाग्यो हत्याको आरोप ?
असई विक तेस्रो मधेस आन्दोलन २०७२ मा मारिएका हुन् । महोत्तरीको जलेश्वरमा २०७२ भदौ २५ गतेको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भयो । झडपका क्रममा सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वरमा कार्यरत असई विकलाई आन्दोलनकारीले नियन्त्रणमा लिएर कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
घाइते विकलाई उद्दार गरी प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्यायो । तर, त्यहाँ उपचार सम्भव भएन। त्यसपछि जनकपुर ल्याउने क्रममा सनोखडास्थित एम्बुलेन्सबाट थुतेर धान खेतमा उनको हत्या गरियो ।
घटनामा संलग्न रहेको भन्दै लक्ष्मी महतोसहित २८ जनामाथि मृतक असई विकका दाजु प्रेमबहादुर विकले जिल्ला अदालत महोत्तरीमा २०७२ भदौ २५ मा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेका थिए । त्यतिवेला महतो मधेसी दलमा थिए ।