
जनकपुरधाम- मधेश प्रदेशको सरकार मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएसँगै प्रदेश सांसदहरु मन्त्री बन्नको लागि शक्ति केन्द्रमा दौडधुपमा लागेका छन् ।
प्रदेश सरकारमा हाल सबै मन्त्रालय मुख्यमन्त्री सरोज कुमार यादवको मातहतमा रहेका छन् ।
मुख्यमन्त्री यादव र ३ जना मन्त्रीले सपथ लिएको एक हप्ता बढी भई सक्दा पनि मन्त्रीमण्डलले पूणर्ता पाएको छैन् । नियुक्त भइसकेका मन्त्रीहरुको विभाग समेत तोकिएको छैन् ।
उच्चस्तरीय स्रोतका अनुसार जसपाबाट मन्त्री बनेका सञ्जय यादवलाई अर्थ, नेकपा एमालेबाट मन्त्री बनेका सरोज यादव(महोत्तरी) लाई भौतिक पूर्वाधार विकास र जनमतबाट मन्त्री बनेका ई.वसन्त कुशवाहालाई कृषि मन्त्रालयको जिम्मेवारी दिइने छ ।
यता मन्त्रालयको टुंगो नलागे पनि एमालेका मन्त्री यादव र जनमतका मन्त्री कुशवाहाले आवास सुनिश्चित गरिसकेका छन् । यादवले पूर्व भौतिक पूर्वाधार मन्त्रीको आवास रोजेका छन् । तर ई.कुशवाहाले पूर्व सामाजिक विकास मन्त्रीको आवास रोजेका छन् ।
जसपाबाट मन्त्री बनेका यादवले हाल सम्म आवास सुनिश्चित गरेका छैनन् । तर उनले पूर्व अर्थमन्त्रीको आवासलाई रुचाएका छैनन् । उनको रोजाइमा पूर्व कृषि मन्त्रीको आवास पर्न सक्ने संभावना छ ।
निवर्तमान गृह तथा सञ्चार मन्त्री भरत साहले आवास खाली गरिसकेका छैनन् । उनी फेरि मन्त्री हुने विश्वासका साथ आवास खाली नगरेको बताइएको छ ।
संघीय सरकारमा मधेश केन्द्रित दलहरु जनता समाजवादी पार्टी(जसपा) र जनमत पार्टीको तालमेल नमिलेको कारण प्रदेश सरकार विस्तारमा ढिलाइ भएको बताइएको छ ।
सरकारमा सहभागिताको विषयमा जसपा र जनमत पार्टीसित सहमति भइसकेको छैन् । जसपाले उपराष्ट्रपति पाउनु पर्ने अडानमा कायम राखेको छ । जनमत पार्टीले पूर्व सहमति अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति अथवा खानेपानी सहित थप एउटा मन्त्रालय दिनुपर्ने अडान लिएको छ ।
मधेश प्रदेश सरकारमा ढिलाइको कारण कार्य व्यस्तता रहेको जनमतबाट मन्त्री बनेका ई. वसन्त कुशवाहाले बताए ।‘मन्त्रालयको संख्या र विभागबारे गठबन्धन दलहरुबीच सहमति भइसकेको छ’ उनले भने, सहमति अनुसार मन्त्रीमण्डल चाँडै विस्तार हुनेछ । मन्त्रीपरिषद्को बैठक आज मंगलवार डाकिएको उनले बताए ।‘
मुख्यमन्त्री यादव पार्टीका शीर्ष नेताहरुसितको छलफलका लागि राजधानी गएकाले पनि केही समय लागेको छ’ मन्त्री कुशवाहाले भने, सरकारले विश्वासको मत प्राप्त गरेपछि सबै दलमा शीर्ष नेताहरुसित परामर्श गर्न आवश्यक थियो ।
उच्चस्रोतका अनुसार सहमति अनुसार नियुक्त भइसकेका मन्त्रीहरुको विभाग चाँडै निर्धारण गरिनेछ । संभवतः आज नै मन्त्रीहरुको विभाग तोकिने छ ।
हाल सम्मको सहमति अनुसार जसपाले ३, एमालेले ३, जनमतले २, लोसपाले १ र माओवादी केन्द्रले १ मन्त्रालय पाउने छन् । एमालेलाई ४ मन्त्रालय दिने सहमति भए पनि लोसपा पनि सरकारमा सहभागी हुने भएकाले एउटा मन्त्रालय घटाइएको छ ।
मन्त्रीमण्डल विस्तारको तयारी भइरहेसँगै सभासदहरु सरकारमा जान शीर्ष नेताहरुलाई प्रभावित गर्ने प्रयत्नमा जुटेका छन् । जनमत बाहेक अन्य दलहरुले भने मन्त्रीको नाम अझै टुंग्याइसकेको छैन् ।
जसपामा हालै प्रवेश गरेकी सुरिता साह मन्त्री बन्ने संभावना बढेको छ । पर्सा जिल्लाबाट जसपामा प्रवेश गरेका प्रमोद कुमार जयसवाललाई राज्यमन्त्री दिने बताइएको छ ।
जनमतबाट सञ्जय यादव मन्त्रीमण्डलमा पर्न सक्छन् । लोसपाबाट रानी शर्माको संभावना बलियो छ ।
नेकपा एमाले र माओवादी केन्द्रबाट मन्त्री बन्नेहरुको नाम टुंगो लाग्न बाँकी छ । मुख्यमन्त्री यादवले सरकारलाई चाँडै पूणर्ता दिएर कामकाजलाई प्रभावकारी बनाउन लागि परेको बताइन्छ ।
दलहरुबाट मन्त्रीको नाम प्राप्त हुनासाथ मन्त्रीमण्डल विस्तार हुने मुख्यमन्त्री निकट स्रोतले जनाए । संघीय संसदमा दलहरु बीच मन्त्री र शासकीय पदहरुबारेमा तालमेल हुन सकेको छैन् ।
नेताहरु अहिले संघीय सरकार र गठबन्धनमा तालमेल मिलाउन सक्रिय रहेकाले सबै प्रदेशहरुमा सरकारले पूणर्ता पाउन सकेको छैन् ।