जनकपुरधाम- महोत्तरीको मालपोत र जिल्ला प्रशासन कार्यालय जस्ता सेवाग्राहीहरुको बढी भिढभाड हुने सरकारी कार्यालयहरुबाट प्रहरीले दुई दिनमा दश जना बिचौलियाहरुलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट सोमबार पाँच जना र भुमिसुधार तथा मालपोत कार्यालय महोत्तरी जलेश्वरबाट पाँच जना गरि दश जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी संतोषकुमार पोखरेलले मंगलबार जलेश्वर नगरपालिका-२ स्थित भुमिसुधार तथा मालपोत कार्यालय जलेश्वर अगाडि कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई काम छिटो छरितो गराई दिने भनि प्रलोभन देखाई पैसा बार्गेनिङ गरिरहेको गोप्य सूचनाको आधारमा पाँच जनालाई पक्राउ गरिएको जानकारी दिए।
पक्राउ पर्नेहरुमा जिल्ला प्रशासन कार्यालय महोत्तरीबाट मटिहानी नगरपालिका वडा नं ९ बस्ने ५२ वर्षीय अजिमउदिन अंसारी, भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरी, जलेश्वरबाट सोनमा गाउँपालिका वडा न. २ बस्ने ३५ वर्षीय रोशन कुमार यादव, जलेश्वर नगरपालिका वडा न. १ बस्ने ३० वर्षीय बिक्रम चौधरी, औरही नगरपालिका वडा नं. ४ बस्ने ५४ वर्षीय सुरेश यादव र बलवा नगरपालिका वडा नं. १० बस्ने ३८ वर्षीय अमित कुमार मल्लिक रहेका छन्।
काम छिटो गराईदिन्छु भनि प्रलोभन देखाई पैसा मागी बार्गेनिङ गरिरहेकै अवस्थामा पक्राउ परेका पाँचै जना बिचौलियालाई जिल्ला प्रशासन कार्यालय महोत्तरी जलेश्वरमा उपस्थित गराई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दामा सात दिन म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यसअघि सोमबार प्रहरीले महोत्तरी गाउँपालिका-४ बस्ने नागेन्द्र पासवान, मटिहानी न.पा.-२ बस्ने उदयशंकर यादव, जलेश्वर नगरपालिका-२ बस्ने विनोद साह, विनोदकुमार महतो र रामगोपालपुर नगरपालिका-८ बस्ने विशम्भरप्रसाद साहलाई पनि बिचौलियको काम गर्ने गरेको आरोपमा पक्राउ गरेको थियो ।
सेवाग्राहीको काम कार्यालयमा आफै पुगेर गरिदिने, सेवाग्राहीसँग बढी रकम लिने लगायतका गुनासो आएपछि निगरानी राखेर उनीहरूलाई पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ । सेवाग्राहीको बढी भिडभाड हुने गरेको फाईदा उठाउँदै बिचौलियाहरु सक्रिय भएको जनगुनासो आउन थालेपछि प्रहरीले सोको रोकथापका लागि यो कदम उठाएको जनाएको छ।
डीएसपी पोखरेलले भने, ‘‘बिचौलियाको काम गर्ने गरेको आरोपमा पक्राउ परेका अधिंकास लेखनदासहरु नै हुन । सेवादाता र सेवाग्राहीबीच पुलको काम गरिदिने लेखनदासको काम भए पनि तोकिएभन्दा बढी रकम लिएर बिचौलियाको काम गरिदिने गरेको पाइएको छ त्यहि भएर प्रहरीले यो कारबाही थालेको छ ।’’
सोमबार नै जिल्ला प्रशासन कार्यालय अगाडिबाट चारजना र मालपोत कार्यालय अगाडिबाट एकजनालाई पक्राउ गरी सम्झाई वुझाई छाडिएको थियो उनले बताए।जिल्लाका अन्य पालिकाहरूमा पनि प्रहरीले यस्ता अपरेसनलाई जारी राख्ने जनाएको छ ।




