महोत्तरी – मधेश प्रदेशमा अझै पनि दर्जनौँ पालिकाले चालु आर्थिक वर्षको बजेट ल्याउन सकेका छैनन्। चालु आर्थिक वर्ष २०८१/०८२ को दुई महिना बितिसक्दा पनि प्रदेशका ३२ वटा पालिकाले बजेट प्रस्तुत गर्न सकेका छैनन्।
नियम अनुसार पालिकाले असार १० गतेभित्र बजेट ल्याइसक्नुपर्ने हो। तर जनप्रतिनिधिहरूबीचको आन्तरिक विवाद, व्यक्तिगत द्वेष–ईर्ष्या र मेयर तथा उपमेयरबीच स्वार्थपूर्ति नहुँदा बजेट ल्याउन ढिलाइ भएको छ।



मधेश प्रदेशमा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा पालिका छन्। तीमध्ये ९७ पालिकाले मात्र बजेट ल्याएका छन् भने एक उपमहानगरपालिका, १८ नगरपालिका र २० गाउँपालिकाले अझैसम्म बजेट ल्याउन सकेका छैनन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सबैभन्दा बढी धनुषाका स्थानीय तहले बजेट ल्याउन सकेका छैनन्। धनुषामा रहेका १८ स्थानीय तहमध्ये ६ पालिकाले अहिलेसम्म बजेट प्रस्तुत गरेका छैनन्।
महोत्तरीमा सोनमा गाउँपालिकाले बजेट ल्याउन सकेको छैन। त्यस्तै सप्तरीका ६, सिराहाका ३, सर्लाहीका ५, रौतहटका ५, बाराका ४ र पर्साका ५ पालिकाले बजेट ल्याउन नसकेको मन्त्रालयले जनाएको छ।
स्थानीय तहले तोकिएको मितिमा बजेट ल्याउन नसक्दा सुशासन र सेवा प्रवाहप्रति गम्भीर प्रश्न उठेको सरोकारवालाहरूको भनाइ छ।




