महोत्तरी - महोत्तरीसहित मधेशका विभिन्न जिल्लामा पछिल्ला दुई दिनदेखि बाक्लो हुस्सु र शितलहरका कारण अत्यधिक चिसो बढेको छ। विगत केही दिनको तुलनामा शुक्रबार र शनिबार जाडो निकै बढेको स्थानीयले बताएका छन्।
यसअघि बिहीबारसम्म पारिलो घाम लागे पनि पछिल्ला दुई दिनदेखि हुस्सु र शितलहर चलेपछि चिसो बढेको औरही नगरपालिका–२ का स्थानीय दिनेश यादवले जानकारी दिए। उनका अनुसार बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै पानी परेजस्तै लगातार शित खसिरहेको छ। शितलहरसँगै पश्चिमी हावा (स्याँठ) चल्दा चिसो झनै बढेको र स्थानीयवासी आगो तापेर बस्न बाध्य भएको उनले बताए।
चिसो बढेपछि दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने वर्ग सबैभन्दा बढी प्रभावित भएको देखिएको छ। सडकमा मानिसको चहलपहल कम हुँदा आम्दानी घटेको औरही नगरपालिका–१ स्थित औरही बजारका टेम्पु मजदुर मुकेश यादवले बताए।यसअघि दैनिक करिब दुई हजार रुपैयाँसम्म कमाइ हुन्थ्यो,अहिले पाँच सय रुपैयाँ कमाउन पनि मुस्किल भएको छ,उनले गुनासो गरे। औरही नगरपालिका–२ का अर्का ज्यालादारी मजदुर चन्दर सादाले चिसोका कारण काम गर्नै नसक्ने अवस्था रहेको बताए।
हरेक जाडोयाममा महोत्तरीसहित तराई–मधेश क्षेत्रमा लामो समयसम्म शितलहर चल्ने र घाम नदेखिने हुँदा चिसोको कहर झेल्नुपर्दै आएको छ। यसपटकको चिसोले मानिससँगै पशुचौपाय तथा कृषि बालीमा समेत असर पुर्याएको छ। चिसोका कारण विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी समस्यामा परेको स्थानीयको भनाइ छ।
चिसोबाट बच्न तातो झोलिलो खानेकुरा सेवन गर्न,न्यानो कपडा लगाउन तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन स्वास्थ्यकर्मीले सर्वसाधारणलाई आग्रह गरेका छन्। चिसो बढेसँगै अस्पतालहरूमा बिरामीको चापसमेत बढ्दै गएको छ।




