
जनकपुरधाम- मधेश प्रदेशमा चालु आर्थिक वर्षमा ६ हजार १ सय ५६ जना महिलाले औषधि सेवन तथा शल्यक्रिया गराएर सुरक्षित गर्भपतन गराएका छन् ।
स्वास्थ्य लाइभ मिडिया संस्थाले आइतबार वीरगन्जमा आयोजना गरेको औषधिको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतनबारे अन्तरक्रियामा संस्थाका प्रकाशक/सम्पादक अर्जुन अधिकारीले स्वास्थ्य मन्त्रालयको तथ्यांक प्रस्तुत गर्दै यो जानकारी सार्वजनिक गरेका हुन् ।
अधिकारीका अनुसार गर्भपतन गराएका कुलमध्ये वीरगन्ज महानगरका मात्र ७ सय ७८ महिला छन् । यो वर्ष प्रदेशभरि २० वर्षमुनिका २ सय ८१ महिलाले औषधि सेवन गरी सुरक्षित गर्भपतन गराएका छन् । त्यस्तै प्रदेशका २० वर्षमुनिका ४ सय ३१ महिलाले शल्यक्रियाबाट गर्भपतन गराएका छन् ।
प्रदेशका २० वर्षभन्दा माथिका ४ हजार ६० जना महिलाले औषधि सेवन गरेर गर्भपतन गराएका छन् । अन्तरक्रियामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वरजिस्ट्रार प्राध्यापक श्याम लम्सालले संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषको तथ्यांकलाई उद्धृत गर्दै विश्वमा गर्भाधारणको चाहना नभएर पनि बर्सेनि अनुमानित २५ करोड ७० लाख महिलाहरूले परिवार नियोजनको सुरक्षित र आधुनिक तरिकाहरु नअपनाउने गरेको बताए ।