काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री प्रचण्डलाई गृहबारे निर्णय लिन २ दिने अल्टिमेटम दिएको छ ।
बिहिबार बसेकाे केन्द्रीय समिति र पार्टी संसदीय दलको संयुक्त बैठकले प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय संयन्त्रका संयोजक केपी ओलीलाई २ दिनको समय दिएको हो ।



गृह मन्त्रालय नपाएको झोकमा सरकारबाट बाहिरिने चेतावनी दिइरहेका सभापति रवि लामिछानेलाई बैठकमा अधिकांश नेताहरुले अहिले पर्ख र हेर को नीति लिनुपर्ने सुझाव दिएका छन् ।
बैठकपछि प्रवक्ता मुकुल ढकालले बैठक जारी रहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले सभापति रवि लामिछानेलाई फोन गरेर २ दिन कुर्न आग्रह गरेकाले कुर्ने निर्णय गरेको जानकारी दिए ।
उनले भने ‘बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल गर्यौँ । ३९ जना सबैले भनाइ राख्नुभयो । बैठक बसिरहेका बेला प्रधानमन्त्री प्रचण्ड र उच्चस्तरीय संयन्त्रका संयोजक केपी ओलीको फोन आयो । र दुवैले सन्देश पनि पठाउनुभयो । उहाँहरूले दुई दिनको समय माग्नुभयो ।’
प्रवक्ता ढकालले २ दिनभित्र संयन्त्रको बैठक बसेर सकारात्मक जवाफ नआए जस्तोसुकै निर्णय गर्न सकिने जानकारी दिए ।




