
जनकपुरधाम- धनुषा प्रहरीले हातहतियार तथा गोलीसहित एक मिटरब्याजीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१ बस्ने ४१ वर्षीय दिलिप साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले साहको घर तथा पसल खानतलासि गर्दा कपाली तमसुकहरू, जग्गाधनि पुर्जाहरू, खाली चेक लगायतका अन्य कागजात तथा कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान र म्यागनमको खोका १ थान बरामद भएको थियो ।
प्रहरीले दिलिप तथा उनको श्रीमति ममता देवी साहको नाममा रहेको राजीनामा फारम सहितको जग्गा धनि पुर्जा ३९ थान, दिलिप साहको नाममा जग्गा रोक्का रहेको फारम ५ थान, रकम उल्लेख नभई दस्तखत भएको सिटिजन बैंकको चेक १ थान, कपाली तमसुक १५ थान, खाली कागजमा सहिछाप भएको ६ वटा पाना, लेनदेन मुद्दाको विपक्षी पवन नारायण झाको नाममा रहेको सक्कलै म्याद बान १ थान, लेनदेन मुद्दाको दिलिप साहको नाममा रहेको तारेख पर्चा १४ थान समेत बरामद गरेको हो ।
जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरूले मिटरब्याजी साह उपर उजुरी दिएकोमा शनिबार दिउँसो २ बजे उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।