
जनकपुरधाम- महोत्तरीमा प्रहरी चौकीअगाडिकै चोकमा विवादपछि कुटपिट गरी एक जेष्ठ नागरीकको हत्या गरिएको छ।
जलेश्वर नगरपालिका- ५ पर्सा पतैलीचोकमा सोही ठाउँनिवासी ७५ वर्षीय हरिदेव राउतलाई उनकै नातामा काका पर्ने ६८ वर्षीय सुरेन्द्र राउतले कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी सन्तोषकुमार पोखरेलका अनुसार बेलुका साढे ४ बजेतिर गाउँभन्दा पाँच सय मिटर दक्षिणमा रहेको पर्साचौकमा धान, चामल लगायतको अन्नपात खरिदबिक्रीको काम गरिरहेका वृद्ध हरिदेवलाई लागु पदार्थ सेवन गरेका सुरेन्द्रले मुक्का र लात्तिले हिर्काउँदा मृत्यु भएको हो ।
प्रत्यक्षदर्शीले भने प्रहरी चौकी पर्साका प्रमुख रामबाबु यादबकै अगाडि वृद्धलाई कुटपिट भएको तर प्रहरीले नबचाएको आरोप लगाएका छन्। प्रहरीले घटनाको भिडियो खिचेपनि कुटपिट गर्नेलाई नरोकेको आरोप स्थानीयको छ।
सबै घटनाक्रम प्रहरी चौकीअगाडि नै भएकोले प्रहरीले स्थिति नियन्त्रण लिन पहल नगरेको भन्दै स्थानीयले चौकीअगाडि धर्ना दिंदै प्रदर्शन समेत गरेका थिए।
यता जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट गएको प्रहरी टोलीले घटना मुचुल्का उठाई शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ।।
कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले सुरेन्द्र राउतलाई गिरफ्तार गरेको छ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी पोखरेलले घटनाको अनुसन्धान भइरहेको छ। उनको अनुसार प्रहरी चौकीअगाडि भएको घटनासम्बन्धी अनुसन्धान गर्न चौकीमा कार्यरत सबै प्रहरीलाई जिल्ला तानिएको छ।