
राधेश्याम कुशवाहा/सर्लाही
सर्लाहीको कविलासी नरपालिका र बरहथवा नगरपालिका जोडने लखनदेही नदिमा पुल निर्माणका लागि नेपाल सरकारको उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायण काजी श्रेष्ठले निरिक्षण गरेका छन् ।
श्रेष्ठले कविलासी नगरपालिका वार्ड न. ४ हेमपुर र बरहथवा नगरपालिका वार्ड न. १६ टिकुलिया जोडने लखनदेही नदीको हेमपुर घाटको बगरमा हेलिकोप्टरमा मार्फत पुगेर स्थानियवासी लगायत राजनितिक दलसंग समेत कुराकानी गरको हो ।
क्षेत्र न. ३ का प्रतिनिधि सभाका प्रत्याशी नरेन्द्र साह र बागमती नगरपालिकाको मेयर भरत थापाको विशेष पहलमा श्रेष्ठ लखनदेही नदीको हेमपुर घाटको निरिक्षण गर्न आएको वार्ड न. ४ हेमपुरका वडाअध्यक्ष गिरिधारी रायले जानकारी दिए ।
उपप्रधानन्त्री हेलिकोप्टरमा आउने खबर थाहा पाएपछि बहरथवा नगरपालिका र कविलासी नगरपालिकाका नदीबाट प्रभावित भएका हजारौं संख्यामा सर्वसाधारणहरु बगरमा पुगेका थिए । उहाँहरुले उपप्रधानमन्त्रीलाई स्वागत गर्नुका साथै नदिमा छिटो भन्दा छिटो पुल निर्माणका लागि आग्रह समेत गरे ।
लखनदेहीको बगरमा उपस्थित स्थानियवासीलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले भने, "बामगती नगरपालिकाका मेयर भरत थापा, हरिवनका मेयर कमल बुढाथोकी, नरेन्द्र जी लगायतका सबैको अनुरोधमा निरिक्षण गर्न आएको हुँ। यहाँ ठूलो समस्या रहेको छ। तपाइहरु लिखित रुपमा यसबारेको समस्या दिनुहोस्। म समाधान निम्ती मेरो तर्फबाट, मेरो मन्त्रालयको तर्फबाट नेपाल सरकारको तर्फबाट पहल गर्छु ।"
उनले आफू सर्लाहीका हरिपुर, हिरापुर लगायतका ठाउँहरुमा समेत अवलोकन र भ्रमण गर्दा पुल, बाटोघाटो लगायतका विकास निर्माण कार्यहरु गनुपर्ने आवश्यकता महसुस गरेको बताए । उनले स्रोत साधन र प्रविधिले भ्याएसम्म यहाँका विकास निर्माणका कार्यलाई प्राथमिकतामा राखेको बताए।