
जनकपुरधाम- कुमारी आमाका रूपमा चर्चामा आएकी निहारिका राजपूतले शिवराज श्रेष्ठसँग विवाह गरेकी छिन् । उनीहरूले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् ।
बलात्कारको आरोप लगाउँदै शिवराज विरुद्ध अदालतमा उजुरी समेत गरेकी निहारिकाले उनीविरुद्ध अंश मुद्दा समेत हालेकी थिइन् ।
तर उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम मिलापत्र भएको थियो ।

मिलापत्र अनुसार श्रेष्ठले निहारिकालाई श्रीमतीका रूपमा स्वीकारेका थिए । जिल्ला अदालतमा अंश मुद्दा दिएकी निहारिकाले दुईबीच पति–पत्नीका रूपमा बस्ने निर्णय अनुसार मिलापत्र गरेको बताएकी थिइन् ।
निहारिकाले आफू बलात्कृत भएको र कानूनी उपचारका लागि प्रशासनले सहयोग नगरेको भन्दै लामो समयदेखि आन्दोलन गरिरहेकी थिइन् । त्यसक्रममा उनी पटक-पटक पक्राउ समेत परेकी थिइन् ।
उनले आफ्नो बच्चाको डिएनए जाँच गरिनुपर्ने, घटनाको सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी काम भएको भन्दै पुनः जाँच गरिनुपर्ने लगायतको माग राख्दै अनशन समेत बसेकी थिइन्।
यो प्रकरण पहिल्यै अदालतसम्म पुगेको थियो । तर, जिल्ला अदालत, धनुषाले २४ माघ २०७८ मा श्रेष्ठलाई सफाइ दिएको थियो ।
उनको विरोधपछि बलात्कारको मुद्दामा प्रमाणको मूल्याङ्कन नगरी आरोपीलाई सफाइ दिएको भन्दै धनुषाका तत्कालीन जिल्ला न्यायाधीश डा. परशुराम भट्टराई पनि जिल्ला अदालत तानिएका थिए । बलात्कार सम्बन्धी मुद्दा उच्च अदालतमा अझै विचाराधीन छ ।
निहारिकाले बच्चा शिवराजको नै भएको बताउँदै डिएनए परीक्षणको माग गरेकी थिइन् । परीक्षण गर्दा डिएनए पनि मिलेको थियो ।