जनकपुरधाम- नेपाल ईन्जिनियर एसोसिएसनले ईन्जिनियरहरुका लागि विज्ञापन गर्न मधेस सरकारसंग माग गरेको छ । एसोसिएसनले जनकपुरधाममा आयोजना गरेको अन्तरकृया एवं सम्मान कार्यक्रममा ईन्जिनियरहरुले प्रदेश लोकसेवा आयोगको माध्यमले विज्ञापन गर्न माग गरेका हुन् ।
कार्यक्रममा सहभागी इन्जिनियरहरुले कि त प्रदेश लोक सेवा अयोग खारेज गर्नु पर्यो कि त विज्ञापन गर्नुपर्ने माग गरे ।



कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै ई. कृष्णचन्द्र साहले इन्जिियनयरहरुका लागि कम्तीमा सातौ तहमा नियुक्ति हुने गरी वातावरण श्रृजना गर्ने तर्फ लाग्न ईन्जिनियरहरुलाई आग्रह गरे । उनले भने ‘के आधारमा छैठौँ तहमा नियुक्त गर्ने प्रावधान ल्याइयो त्यो बुझेर सातौ तहमा नियुक्ति गर्ने प्रावधान कसरी हुन सक्छ त्यसकालागि योजना अगाडी बढाउनु पर्ने छ ।’
एसोसिएसनका प्रदेश अध्यक्ष ई. गौरी पण्डितले ईन्जिनियरहरुको हकहितका लागि एसोएिसनले निरन्तर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । यसका लागि ईन्जियनयरहरुलाई एक हुन पण्डितले आह्वान गरे ।
यस अघि इन्जिनियर एसोएिसनले मधेशका मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा माग्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनकालागि निषेध गरिएको मुख्यमन्त्री कार्यालय क्षेत्रमा प्रदर्शन गर्न पुगेका इन्जिनियर र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो ।
कलकारखानामा स्वदेशी इन्जिनियरलाई नियुक्त गर्नुपर्ने, विदेश पलायन रोक्नुपर्ने, इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, सेवाकालिन तालिमको व्यवस्था गर्नुपर्ने, स्तरवृद्धि गर्नुपर्ने, न्यूनतम सातौं तह कायम गर्नुपर्ने लगायतका माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
नेपाल इन्जिनियर्स एशोसिएसन मधेश प्रदेशले तत्कालीन मुख्यमन्त्री लालबाबु राउत र वर्तमान मुख्यमन्त्री यादवलाई समेत पटक पटक माग पूरा गर्न ध्यानाकर्षण गराएको प्रदेश अध्यक्ष पण्डितले बताए । मधेश सरकारले आफूहरुको माग पूरा गर्न चासो नदेखाए झन कडा आन्दोलनमा उतरिने उनले चेतावनी दिए ।




